
काठमाडौं ।
छिमेकी देश भारतमा अडानी डाटा नेटवर्क्स लिमिटेडले टेलिकम सेवाहरूमा पहुँच गर्न एकीकृत लाइसेन्स प्राप्त गरेको छ। यो इजाजतपत्र प्राप्त गरेपछि, अडानी डाटा नेटवर्कले देशमा पूर्णरूपमा आफ्नो टेलिकम सेवाहरू उपलब्ध गराउन सक्छ।
भारतीय समाचार एजेन्सी आईएएनएसको रिपोर्टमा, दुई आधिकारिक स्रोतलाई उद्धृत गर्दै अडानी डाटा नेटवर्कले टेलिकम लाइसेन्स पाएको उल्लेख गरेको छ। अडानी समूहलाई दूरसंचार विभागले सोमबार अक्टोबर १० मा पूर्ण दूरसञ्चार सेवा अनुमतिपत्र जारी गरेको छ। यद्यपी अडानी समूहले यसबारेमा कुनै आधिकारिक घोषणा गरेको छैन ।
अदानी समूहले भर्खरै भारतमा आयोजित ५जी स्पेक्ट्रम लिलामीमा भाग लियो। अब टेलिकमको एकीकृत लाइसेन्स पाएपछि अडानीको टेलिकम कम्पनीले पनि फाइभजी सेवा लिएर देशमा प्रवेश गर्न सक्नेछ ।
पहिलेदेखि नै भारतीय बजारमा रहेका तीन ठूला निजी टेलिकम कम्पनी रिलायन्स जियो, एयरटेल, भोडाफोन आइडियाका सामु एउटा नयाँ कम्पनी चुनौती बन्न सक्छ।
मिडिया रिपोर्टकाअनुसार अडानी डाटा नेटवर्कले पूर्ण टेलिकम लाइसेन्स पाएपछि, विशेषगरी एयरटेल र जियोले कडा चुनौती सामना गर्न सक्छन्। यी दुबै कम्पनीले हालै देशका चुनिएका सहरमा ५जी सेवा सुरु गरेका छन् ।
जुलाईमा भएको स्पेक्ट्रम लिलामीमा, अदानी समूहले २६ गीगाहर्ज एमएमवेभ ब्यान्ड सहित ४०० मेगाहर्ज एयरवेभहरू किनेको छ। यसका लागि कम्पनीले २१२ करोड भारतीय रुपैयाँ खर्च गरेको छ। अडानी समूहले २० वर्षको लागि यो लाइसेन्स पाएको छ।
समाचारका अनुसार, अडानी समूहले हाल ६ ओटा टेलिकम सर्कलहरू – आन्ध्र प्रदेश, गुजरात, कर्नाटक, राजस्थान तमिलनाडु र मुम्बईका लागि पूर्ण फ्ल्याङ्ग इजाजतपत्र पाएको छ। कम्पनीले यी सबै दूरसञ्चार सर्कलहरूमा लामो दूरीको कलका साथै इन्टरनेट सेवा उपलब्ध गराउन सक्नेछ।
प्रकाशित: २७ आश्विन २०७९, बिहीबार