
काठमाडौं ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिम प्रदान गर्ने व्यवसायीले अनलाइन अनुगमनलाई प्रभावित पारेको जनाएको छ।
विभागले विज्ञप्ति जारी गर्दै आधिकारिक नम्बरबाट फोन, भाइबर र ह्वाट्सएपबाटसमेत तालिम सञ्चालकलाई कक्षा सञ्चालनको दृश्य अवलोकन गराउन अनुरोध गरे पनि विभिन्न बहाना बनाउने र फोन नउठाउने जस्ता कार्य गरी अनलाइन अनुगमनलाई प्रभावित पार्ने र बेवास्ता गर्ने गरेको जनाएको छ। अब पनि यही दोहोरिएमा कारबाही हुने भन्दै विभागले सचेत गराएको छ।
विभागको विज्ञप्तिमा प्रत्यक्ष र अन्य विभिन्न माध्यमबाटसमेत अनुगमन गर्ने भन्दै विभागबाट भएका सबै खाले अनुगमनलाई अभिमुखीकरण तालिम सञ्चालकले सघाउनुपर्ने र त्यसो नगरेमा कारबाही हुने भनिएको छ।
विभागले अनुगमनलाई प्रभावित पार्ने वा बेवास्ता गर्ने सञ्चालकलाई अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ अनुसार कारबाही हुुने जनाएको छ।
विभागकाअनुसार नेपालबाट वैदेशिक रोजगारीमा जानेले नयाँ श्रम स्वीकृति लिएर जाँदा अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण तालिम लिनुपर्छ।
प्रकाशित: १६ आश्विन २०७९, आईतवार