दुई महिनामा भित्रियो १ करोड २० लाखको बीटीएस टावर, सबैभन्दा धेरै अस्ट्रेलियाबाट

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
दुई महिनामा भित्रियो १ करोड २० लाखको बीटीएस टावर, सबैभन्दा धेरै अस्ट्रेलियाबाट

काठमाडौं ।

नेपालमा बीटीएस टावर (बेस स्टेशन)को आयात बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्म १ करोड २० लाख ६२ हजार रुपैयाँ बराबरको ८३५ ओटा बेस स्टेशन आयात भएको छ।

बेस स्टेशनको आयातबाट सरकारले ४ लाख ४४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा बेस स्टेशनको आयात १ करोड ६ लाख २९ हजार रुपैयाँले बढेको हो। गत आवको भदौ मसान्तमा २७ ओटा बेस स्टेशन आयात भएको थियो।

चालु आवको साउनमा ७ लाख ९३ हजार रुपैयाँ बराबरको ७८५ ओटा बेस स्टेशन आयात भएको थियो।

नेपालमा ५ ओटा मुलुकबाट बेस स्टेशन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

भदौमसान्तको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी बेस स्टेशन अस्ट्रेलियाबाट आयात भएको छ। अस्ट्रेलियाबाट अस्ट्रेलियाबाट ५५ लाख ६३ हजार रुपैयाँ बराबरको १० ओटा बेस स्टेशन आयात भएको छ।

ताइवानबाट ३७ लाख ५१ हजार रुपैयाँ बराबरको २ ओटा बेस स्टेशन आयात भएको छ।

यूएईबाट १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक ओटा बेस स्टेशन आयात भएको छ।

चीनबाट ७ लाख १० हजार रुपैयाँ बराबरको ७२ ओटा र भारतबाट १ लाख ६३ हजार रुपैयाँ बराबरको ७५० ओटा बेस स्टेशन आयात भएको छ।

के हो बीटीएस टावर?

बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन भद्दत गर्दछन्।

बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।

किन आउँछन् बीटीएस उपकरण?

दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदन्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।

यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।

यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।

त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिको परीक्षणका लागि पनि मार्ग प्रशस्त गरेको बेला बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...