
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले कल सेन्टर सेवाको नियमन तथा व्यवस्थापन गर्ने भएको छ।
कल सेन्टर नियमन तथा व्यवस्थापन गर्न प्राधिकरणले नयाँ कानून तर्जुमा गर्न लागेको हो।
चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममा कल सेन्टर सम्बन्धी नियम बनाउने उल्लेख छ।
दूरसञ्चार क्षेत्रको नियामक रहेको प्राधिकरणले कल सेन्टरसम्बन्धी नयाँ नियम बनाउने निकाय भएकाले कानून सम्बन्धी नियम बनाउने तयारी अगाडी बढाएको हो।
कानूनको अभावमा कल सेन्टर स्थापना र सञ्चालन गर्दा विकृति मौलाएकाले यसलाई कानूनी दायरामा ल्याउन खोजिएको प्राधिकरणका सहप्रवक्ता अच्यूतानन्द मिश्रले जानकारी दिए।
टेक्नोलोजिखबरडटकमसँग कूरा गर्दै उनले भने, “कल सेन्टरको वर्तमान अवस्था, सेवा सञ्चालनको प्रविधि र सञ्चालन नियमन, लगानी र रोजगारीको अवस्थामा अध्ययन समेत गर्ने रहेको छ, यसका लागि प्राधिकरणले परामर्शदाता समेत राखिने छ।”
यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई यस्तो नियमनको व्यवस्था गर्न निर्देशन दिएको सचिव डा. बैकुण्ठ अर्यालले बताएका छन्।
दूरसञ्चार तथा इन्टरनेटको उपयोगबाटै कल सेन्टर सञ्चालन हुने र यसको दुरुपयोग पनि डिजिटल माध्यमबाटै हुने भएकाले नियम बनाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको डा. अर्यालले जनाए।
पछिल्लो समय नेपालमा कल सेन्टर ठगी बढिरहेको छ। कल सेन्टर चलाएर विभिन्न ठगीका गतिविधि भइरहेकाले प्रहरीको सहजकताका लागि समेत व्यवस्थित कानूनी नियमनको आवश्यकता भएको प्राधिकरणले जनाएको हो।
कल सेन्टरका बाह्य कम्पनीहरूलाई पनि नियमनको दायरामा ल्याउने प्राधिकरणको तयारी छ। यस्तो नियमनबाट असल व्यवसाय गर्नेहरूलाई प्रोत्साहन हुने र राज्यलाई पनि राजस्व प्राप्त गर्ने लक्ष्य समेत रहेको छ।
प्रकाशित: २७ भाद्र २०७९, सोमबार