
काठमाडौं ।
ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमती घुम्न सघाउने मोबाइल एप तयार भएको छ।
ललितपुर वडा नम्बर २२ मा पर्ने पुरानो बस्ती बुङमती घुम्ने पर्यटकको सहजताका लागि पर्य-सम्पदा परियोजनाअन्तर्गत बुङमती (Bungamati) नामक एप तयार गरिएको हो। एपमा बुङमती भित्रका ४० भन्दा बढी मुर्त सम्पदाबारे जानकारी उपलब्ध छ। जसले आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानो सम्पदा बस्ती बुझ्न र घुम्न सजिलो बनाउने अपेक्षा गरिएको छ। यो सम्पदा बस्तीले प्रविधि अपनाएर सुरु गरेको नयाँ प्रयास हो।
बुङमती, काठमाडौं उपत्यकाको पुराना सम्पदा वस्तीहरु मध्ये एक हो । जसलाई सरकारले सम्पदा बस्ती घोषणा गरेको छ। यहाँ मच्छिन्द्रनाथ, कार्यविनायक, भैरव, मनकामनाजस्ता धार्मिक महत्व बोकेका मन्दिरहरु छन्। परम्परा र रीतिरिवाजहरुले पनि भरिपूर्ण बस्ती भएकाले बुङमती पर्यटकको रोजाइमा पर्ने गर्छ।
काठमाडौंबाट छोटो दूरीमा अवस्थित रहेको पुरानो सम्पदा बस्ती भएकाले आन्तरिक पर्यटकहरु समेत फुर्सदमा बुङमति पुग्ने गर्छन्। यसरी बुङमती घुम्न आउने पर्यटकलाई यहाँका धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदाबारे जानकारी दिन मोबाइल एप्लीकेशन तयार पारिएको पर्य-सम्पदा परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत प्रबिन बज्राचार्यले जानकारी दिए।
एप्लीकेशनमा अहिले बुङमतीको नक्सासँगै बस्तीभित्र रहेका घुम्नै पर्ने ठाउँको तस्विरसहित संक्षिप्त जानकारी समावेश छ। आउँदा दिनमा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै एपलाई परिमार्जन गरिने उनको भनाई छ। बुङमती घुम्न सघाउने एप गुगल प्ले स्टोरमा उपलब्ध छ।
साथै बुङमतीका धार्मिक एवं साँस्कृतिक सम्पदासँगै विभिन्न चाडपर्व, रितिरिवाजलगायत विस्तृत जानकारीका लागि वेबपोर्टल www.bungamati.info पनि संचालनमा रहेको परियोजनाले जनाएको छ।
प्रकाशित: २० भाद्र २०७९, सोमबार