
काठमाडौं ।
गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ। चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको हो।
चोर्ने क्रममा श्रेष्ठ परिवार र छिमेकीहरुको हल्ला पछि भागेका तीन जना मध्ये एउटा मोबाइल सेट भेटिएको थियो । उक्त मोबाइल सेटको माध्यमबाट चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
चोरीमा संलग्न सिलिचोङ गाउँपालिका १ का ४२ वर्षीय नन्दुराज राई, सोही गाउँका ३४ वर्षीय जगत राई र सिलिचोङ ३ का वर्ष २३ का अङ्कित राईलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारका अनुसार उक्त मोबाइल धनी नन्दुराज पत्ता लगाएर अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा चोरीमा संलग्न अर्को सदस्यले म्यासेज गरेको थियो । उक्त म्यासेजलाई आधार बनाएर अनुसन्धान गर्दा दोस्रो व्यक्ति जगत पनि पक्राउ गरिएको डिएसपी गोदारले जानकारी दिए । दुवै जना चोरीमा संलग्न भएको पुष्टि भएसँगै तेस्रो व्यक्ति अङ्कित लाई पनि पक्राउ गर्न सहज भएको गोदारले जानकारी दिए।
चोरीमा संलग्नहरूलाई जिल्ला अदालत चैनपुरबाट ‘डाका चोरी तथा ज्यान मार्ने उद्योग’मा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार