कन्सुलर एपमार्फत अब पालिका स्तरमै कन्सुलर सेवा

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
कन्सुलर एपमार्फत अब पालिका स्तरमै कन्सुलर सेवा

काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सूचना प्रविधिको प्रयोग गरेर कन्सुलर सेवा अब पालिकास्तरमा विस्तार गरिने बताएका छन्। उनले वैदेशिक रोजगार र अन्य कतिपय कामको सिलसिलामा सानो कामका लागि पनि ठूलो खर्च गरेर मन्त्रालयसम्म धाउनुपर्ने विद्यमान परिस्थितिको अन्त्य गर्दै मन्त्रालयले स्थानीय तहहरूबाट नै कन्सुलर सेवा प्रवाहमा सहकार्य गर्न थालेको बताएका हुन्।

उदयपुर, भोजपुर र खोटाङ जिल्लाका पालिकाहरूलाई लक्षित गरी परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागद्वारा गाईघाटमा बिहीबार आयोजित कन्सुलर सेवा प्रवाहमा स्थानीय तहसँगको सहकार्यसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा.खड्काले बताए।

कन्सुलर सेवा विभागले काठमाडौँबाट मात्र प्रवाह गर्ने गरेको कन्सुलर सेवालाई अनलाइनमार्फत मुलुकका ७५३ ओटै स्थानीय तहमा सेवा विस्तार गर्ने भएको छ।

वैदेशिक रोजगारीमा गएर समस्या परेका नेपालीहरूलाई आवश्यक कानुनी उपचार र उद्दार गर्न आधारभुत कागजातहरू स्थानीय तहले प्रमाणित गर्नुपर्ने भएकाले कन्सुलर सेवा स्थानीय तहमा विस्तार गर्न लागिएको मन्त्री खड्काले बताए।

विश्वका १३० भन्दा बढी मुलुकमा ४० लाखभन्दा धेरै नेपाली नागरिक विभिन्न कामको सिलसिलामा बस्दै आएको वर्तमान परिप्रेक्ष्यमा जनतासँग प्रत्यक्ष जोडिएको कन्सुलर सेवालाई विकेन्द्रित गरी स्थानीय तहहरूबाटै सेवा प्रवाह गर्ने गरी स्थानीय तहलाई परराष्ट्र मन्त्रालयको कन्सुलर एपसँग आबद्ध गरिएको उनले बताए।

परराष्ट्रमन्त्री डा.खड्काले नेपाल सरकार तथा मातहतका निकायहरूले तयारपार्ने व्यक्ति विशेषका बायोडाटालगायतका कागजपत्रले मुलुकको स्तर निर्धारण गर्ने हुँदा मुलुकको वर्तमान कानुनअनुसार कुनै पनि व्यक्तिको जन्मपश्चात् गरिने पहिलो दर्ता नै वडामा गएर गरिने जन्म दर्ता भएकोले अब वडा कार्यालयलाई नै परराष्ट्र मन्त्रालयको कन्सुलर विभागसँग आबद्ध गरिएको बताए।

कार्यक्रममा कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर वलीले स्थानीय बासिन्दाहरूलाई स्थानीय तहबाटै सहजीकरण गर्न सकिने गरी कन्सुलर सेवाको ‘अनलाइन सिस्टम’ मा ‘लग इन एकाउन्ट’ प्रदान गरी कन्सुलर एपमार्फत विभागमा सिधै जोड्न सकिने बताए। महानिर्देशक वलीकाअनुसार यो प्रणाली लागूू भएपछि विदेशमा अलपत्र परेकाको उद्वार, हराएकाको खोजी, घाइते, बिरामी, ठगी, मृत्यु भएकाहरूको शव नेपाल ल्याउन, क्षतिपूर्ति दाबी गर्न, बिमा रकम माग्न, विदेश पठाउने प्रयोजनका लागि जन्म, विवाह, नाता प्रमाणीकरण, वैवाहिक अवस्था र सम्बन्धविच्छेदको कागज प्रमाणीकरण र कानुनी हकदारको प्रमाणीकरणलगायतका निवेदनहरू, कागजातहरू कन्सुलर सेवा विभागमा सिँधै वडा कार्यालयबाटै पठाउन सकिनेछ र आफ्नो कामको प्रगति हेर्न पनि सकिनेछ ।

उदयपुर, ओखलढुङ्गा र खोटाङ जिल्लाका पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पञ्जिकाधिकारीको सहभागिता रहेको सो कार्यक्रममा परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले विदेशमा कानुनी समस्यामा परेका व्यक्तिका आफन्त स्वयं विभागमा आएर आवेदन गर्नुका साथै कार्य प्रगतिको सोधपुछका लागि समेत आफैँ उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हुँदैछ भन्नेबारे घरैमा बसी जानकारी लिन सकिने जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...