
काठमाडौं ।
भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले ई-कमर्स कम्पनी फ्लिपकार्टलाई एक लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ। यो जरिवाना फ्लिपकार्टलाई कम गुणस्तर (गुणस्तर मापदण्ड पूरा नगरेको) घरेलु प्रेसर कुकर बेचेको कारण लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
सीसीपीएका अनुसार, फ्लिपकार्टले आफ्नो ई-कमर्स प्लेटफर्ममा त्यस्ता प्रेसर कुकरहरू बेचेर कुल १,८४,२६३ भारु कमाएको छ।
समाचारअनुसार सीसीपीए प्रमुख आयुक्त निधि खरेले फ्लिपकार्टलाई आफ्नो प्लेटफर्ममा गुणस्तरहीन प्रेसर कुकर बेच्ने र उपभोक्ता अधिकारको उल्लङ्घन गरेकोमा भारु १ लाख जरिवाना गरिएको बताए। कम्पनीले बिक्री गरेका ५ सय ९८ प्रेसर कुकर फिर्ता गरी ग्राहकलाई रकम फिर्ता गर्न आदेश दिइएको छ । यसका साथै कम्पनीलाई ४५ दिनभित्र अनुपालन प्रतिवेदन बुझाउन पनि भनिएको छ।
यो महिनाको सुरुमा इ-कमर्स प्रमुख अमेजनलाई पनि गुणस्तर मापदण्ड पूरा नगर्ने प्रेसर कुकर बेचेकोमा १ लाख भारु जरिवाना गरिएको थियो। यस बाहेक, यस वर्ष मार्चमा, सीसीपीएले ई-कमर्स कम्पनी पेटीएम मल र स्न्यापडीललाई निर्धारित मापदण्डहरू बेवास्ता गरी प्रेसर कुकरहरू बेचेकोमा १-१ लाख रुपैयाँ जरिवाना लगाएको थियो। कम्पनीहरूले बेचेका यी प्रेसर कुकर फिर्ता गर्न र ग्राहकले तिरेको रकम फिर्ता गर्न आदेश दिइएको थियो।
प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार