मोबाइल फोन आयात बढ्दो, एक वर्षमा ४१ अर्बभन्दा धेरै रकम विदेशीयो

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
मोबाइल फोन आयात बढ्दो, एक वर्षमा ४१ अर्बभन्दा धेरै रकम विदेशीयो

काठमाडौं ।

– किरण अधिकारी

गत आर्थिक वर्ष २०७८/७९ मा ५७ लाख ६३ हजार ओटा फोन नेपाल भित्रिएको छ। जसमध्ये १ लाख ७६ ओटा महँगा स्मार्ट फोन रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष मोबाइल  फोनबाट ६ अर्ब ५४ करोड भन्सार राजस्व पनि असुल भएको विभागले जनाएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ। १२ महिना अर्थात् १ वर्षमा ४० अर्ब ८९ करोड ३६ लाख रूपैया बराबरको मोबाइल आयात भएको छ।

जसमा २ अर्ब ८२ करोड रुपैयाँ बराबरको स्मार्ट फोन नेपाल भित्रएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब ९० करोड मूल्यको ७० लाख ३० हजार ओटा मोबाइल नेपालमा आयात भएको थियो।

स्मार्टफोनको माग बढेपछि अन्य मोबाइल फोनको आयात कम हुँदै आएको भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिए।

टेक्नोलोजीखबरडटकमसँग कुरा गर्दै उनले भने,“स्मार्टफोनको उच्च दरमा माग बढेपछि आपूर्ति उकालो लागेकाले सरकारले अहिले ३०० डलरभन्दा बढी मूल्यका स्मार्ट फोनको आयातमा रोक लगाएको छ।”

महानिर्देशक भट्टराईले थपे,“कोरोनाको महामारीले लकडाउन सुरु भएको १ महिनापछि २०७७ देखि अडियो/भिडियो अनलाइन कक्षा, लगायत सहज माध्यममा स्मार्टफोन नै हुने भएकाले मंहगा आयात भएको हो।”

नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको छ।

दुरसञ्चार संस्थानहरूले नेपालमा फोन सेवासँगै नेटको गुणस्तरमा बढावा दिएकाले पनि मोबाइल प्रयोगकर्ताले महंगो किन्न थालेको देखिन्छ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरूङ्गले बैदेशिक रोजगारको कमाई अर्थात रेमिट्यान्सबाट मोबाइल किन्ने बढेकाले पनि खर्च धेरै देखिएको बताउँछन्।

टेक्नोलोजिखबरसँग कुरा गर्दै उनले भने,“ग्रामिण तथा शहरी क्षेत्रका व्यक्तिहरू रोजगारीको लागि विभिन्न देश जादा आउने पैसाले मोबाइल, टेलिभिजन, बाइक, गाडी, जग्गा, घर बनाउनेमा लगानि गर्छन्, त्यसमध्ये सहज र अन्यभन्दा सस्तो स्मार्ट फोन नै हुने भएकाले आयात बढेको हो।”

प्रयोगकर्ताले अरूको देखेर लोभिनुभन्दा विकृति आउने भएकाले सचेत हुन पनि डा. गुरूङ्गले आग्रह गरे।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार