एनसेलको आम्दानी घट्दोक्रममा, ऋणको लागि पायो ‘ए’ स्तरको रेटिङ्ग

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
एनसेलको आम्दानी घट्दोक्रममा, ऋणको लागि पायो ‘ए’ स्तरको रेटिङ्ग
लैनचौरमा रहेको एनसेल आजियाटा लिमिटेडको कर्पोरेट भवन । फाइल तस्बिर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको आम्दानी र व्यापार निरन्तर खस्किँदै गएको देखिएको छ।

सन् २०१८ मा झन्डै ६० अर्ब रुपैयाँ बराबर कारोबार गरेको एनसेलले २०२१ मा आइपुग्दा ४० अर्ब रूपैयाँ कारोबार गरेको क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालको तथ्यांकमा उल्लेख छ।

२०२१ मा एनसेलले ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रूपैयाँ थियो।

एनसेलको २०१९ मा राजस्व बजार हिस्सा ६४ प्रतिशत रहेकोमा सन् २०२१ मा आईपुग्दा घटेर ५६ प्रतिशत पुगेको उल्लेख छ। इन्टरनेट ब्रोडब्यान्ड हिस्सा बढ्दै गएपनि भ्वाइसबाट हुने आम्दानी घटेको इक्रा नेपालले जनाएको छ। जसले आर्पुमा समेत असर पारेको देखिएको छ। यदपी कम्पनीको आम्दानी सन् २०२० को ५४ प्रतिशतको तुलनामा बढेर सन् २०२१ मा ५६ प्रतिशत पुगेको छ।

अर्कोतर्फ प्रतिस्पर्धी कम्पनीले भने उल्लेख्यरुपमा व्यवसाय बिस्तार गरेको रिपोर्टमा लेखिएको छ। सन् २०२१ को आर्थिक वर्षमा एनसेलको औसत ग्राहक प्रति आम्दानी आर्पु १७ प्रतिशतले घटेर २०५ रुपैयाँ भएको छ भने नेपाल टेलिकमको बढेर १३१ रुपैयाँ पुगेको छ।

“यस अवस्थामा कम्पनीको वृद्धिशील कार्यसम्पादन मुख्य निगरानीयोग्य रहनेछ र बजार सेयर उल्टाउने थप दिगो प्रवृतिले मूल्याङ्कनमा तल झर्नसक्ने दबाब ल्याउन सक्छ,” इक्रा नेपालले रिपोर्टमा भनेको छ।

यदपी आम्दानीको अवस्था लगातार कमजोर भएका बेला समेत आफ्ना शेयरकर्तालाई लाभांश दिएको छ। एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुप बर्हादको छ भने बाँकी २० प्रतिशत नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चरको छ। कम्पनीले सन् २०२० बाट आफ्ना शेयर लगानीकर्ताहरुलाई शतप्रतिशत लाभांश दिएको उल्लेख छ।

इक्राले एनसेललाई दिर्घकालिन ऋणको लागि एल ए रेटिङ्ग प्रदान गरेको छ भने अल्पकालिन ऋणको लागि ए १ रेटिङ्ग दिएको छ। एनसलले दिर्घकालिन र अल्पकालिन २७ अर्ब रुपैयाँ ऋणको लागि रेटिङ्ग गराएको हो।

रेटिङ्ग विश्लेषणमा कम्पनीको टेलिकम क्षेत्रमा लामो अनुभव अनुभवि व्यवस्थापन र कर्मचारीहरु तथा ‘डेब्ट सर्भिस कभरेज रेसियो’ सन् २०२१ मा ४‍.६ गुणा रहेको बताएको छ। आम्दानी घटिरहेपनि संचालन नाफा मार्जिन स्थिर रहेको र ससक्त प्रोमोटर प्रोफाइलका कारण कम्पनीको विश्वसनियता कायम रहेको उल्लेख छ।

२०१६ अप्रिलदेखि आजियाटाले एनसेलको स्वामित्व लिएको हो। एनसेल आजियाटाको २८ अर्ब ६४ करोड ५० लाख रुपैयाँ ऋण छ।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार