भर्चुअल करेन्सी, स्टेबल क्वाइनलगायतको कारोबार नगर्न राष्ट्र बैंकको पुनः चेतावनी

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार
भर्चुअल करेन्सी, स्टेबल क्वाइनलगायतको कारोबार नगर्न राष्ट्र बैंकको पुनः चेतावनी

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतका कारोबार गैरकानुनी रहेको पुनः अवगत गराएको छ। राष्ट्र बैंकले चौथो पटक त्यस्तो कारोबार नगर्न भन्दै सार्वजनिक सूचना जारी गरेको हो।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरेर नेपालमा नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ्ग तथा हाइपर फण्डले कानुनी मान्यता नपाएको स्मरण गराएको छ। बैंकको सूचनाअनुसार नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा त्यस्तो कारोबार गैरकानुनी रहेको छ।

“भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ्ग तथा हाइपर फण्ड (स्टेबल क्वाइन समेत), पिरामिडमा आधारित नेटवर्क मार्केटिङ्ग तथा हाइपर फण्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ,” राष्ट्र बै‌ंकले भनेको छ।

यस्तो कारोबार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी समेत बैंकले दिएको छ।

यसअनुसार नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ्ग तथा हाइपर फण्ड (स्टेबल क्वाइन समेत), पिरामिडमा आधारित नेटवर्क मार्केटिङ्ग तथा हाइपर फण्ड कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ्ग सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने जानकारी दिएको छ।

बैंककाअनुसार कारोबारीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार कारबाही गरिनेछ।

यसअघि २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते र २०७८ माघ ९ गते सार्वजनिक सूचनाहरु प्रकाशन गरेर  भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ्ग तथा हाइपर फण्डलगायतका कार्यहरु गैरकानुनी भएको बताएको थियो।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार