
काठमाडौं ।
अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने प्रिपेड कार्डबाट धेरै खर्च भएको छ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्यनानुसार कार्डबाट भएका भुक्तानीमध्ये धेरैजसो सामाजिक सञ्जालमा गरिएको विज्ञापन, विभिन्न स्कुल–कलेजबारे जानकारी तथा सेवा, अन्तर्राष्ट्रिय जर्नल खरिद/अध्ययन, सूचना प्रविधिमा खर्च भएको छ।
विदेशी मुद्रा सञ्चिति घटिरहेको समयमा गत आर्थिक वर्ष २०७८/०७९ मा ३८ हजार ६६ वटा डलर कार्ड जारी भएका छन्। कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर जम्मा भएकोमा ६१ लाख ३३ हजार अमेरिकी डलर खर्च भएको केन्द्रीय बैंकले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ८ हजार ४ सय ९३ वटा कार्ड जारी भएका थिए। ती कार्डमा १६ लाख ६८ हजार अमेरिकी डलर लोड भएकामा ४ लाख ८९ हजार डलर खर्च भएको थियो।
आर्थिक वर्ष २०७७/०७८ अर्थात् २०७७ चैतदेखि डलर कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेकोले ०७८ असारसम्म थोरै कार्ड जारी भएको र रकम पनि कम खर्च भएको देखिएको थियो।
तर गत असार मसान्तसम्म डलर कार्डबाट मात्र करिब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिएको छ ।
प्रकाशित: २३ श्रावण २०७९, सोमबार