
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ।
राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक हुने यो विश्वविद्यालयको विधेयक प्रतिनिधिसभाको गत असार २० गतेको बैठकबाट पारित भएको थियो।
सूचना र प्रविधिका क्षेत्रमा विदेशबाट समेत अनुसन्धानकर्मी र विद्यार्थी ल्याउने लक्ष्य लिएको सो विश्वस्तरको विश्वविद्यालय मकवानपुरको चित्लाङ र काभ्रेको पाँचखालमा सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास भएको छ।
मुलुकको आर्थिक विकास लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवाद जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले नेपालमा पहिलो पटक यस्तो विश्वविद्यालय खुल्न लागेको बताईएको छ।
सो विश्वविद्यालयमा जैविक कृषि (अर्ग्यानिक एग्रिकल्चर), विद्युतीय प्रविधि (डिजिटल टेक्नोलोजी), वन पैदावार (फरेष्ट बायोमेटरियल्स), तथ्याङ्क विज्ञान (डाटा साइन्स) र कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स)का क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन गराईने छ।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार