
काठमाडौं ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले नयाँ सरकारी भवन बनाउँदा टेलिकमको टावर राख्न मिल्नेगरी निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार समितिमा आयोजित नेपाल टेलिकम सेवा गुणस्तर सम्बन्धी छलफलमा समितिले सरकारलाई सो निर्देशन दिएको छ।
‘नेपाल टेलिकमको सेवा विस्तार गर्न र गुणस्तरमा सुधार ल्याउन टेलिकमको बीटीएस टावर पनि सँगसँगै उपयुक्त स्थानमा जडान गर्दै जानु पर्ने जरुरी हुन्छ। हाल आम नागरिकहरुको निवासमा राखिएका टावरहरु समेत हटाउन दवाव बढ्दै गइरहेको विषयलाई ध्यानमा राखि नेपाल सरकारका विभिन्न निकायहरुबाट निर्माण गरिने भवनहरुमा नै त्यस्ता टावरहरु जडान गर्न मिल्ने गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा सहजिकरण गर्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्देशनमा भनिएको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शहरी क्षेत्रका घरधनीहरु स्वास्थ प्रति सजग भएकाले टावर राख्नका लागि घर पाउन समस्या भइरहेको बताएका थिए।
‘विगतमा घरधनीहरु टावर राख्नका सोर्स लगाएर आउनु हुन्थ्यो। अहिले स्थानीय तहको स्वीकृति लिएर टावर हटाउनु पर्ने माग राख्न थाल्नु भएको छ,’ अध्यक्ष खनालले भने, ‘यसले गर्दा दूरसञ्चार सेवा प्रदायकलाई नयाँ टावर राख्न समस्या भइरहेको छ।’
सरकारी निकायले नयाँ भवन बनाउँदा बीटीएस टावर राख्न मिल्ने गरी भवन निर्माण गर्न समितिले निर्देशन दिनु पर्ने अध्यक्ष खनालको माग थियो।
प्रबन्ध निर्देशक पौडेलले शहरी क्षेत्रमा टावर राखन घर पाउन मुस्किल भएकाले हलुका र साना टावर जडान गर्नेतर्फ टेलिकमले अध्ययन शुरु गरेको बताए।
प्रकाशित: १२ श्रावण २०७९, बिहीबार