
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ। फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठ निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको एएनआईले रिपोर्ट गरेको छ।
“अफगानिस्तान नेसनल टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,” अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ। समाचारमा लेखिएको छ, “तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधि सञ्चालन गरेका थिए । तथापि यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँचयोग्य छैनन् ।”
अफगानिस्तान नेसनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पस्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ । “फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल साइटमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतङ्कवादी सङ्गठनका रूपमा नामकरण गर्ने पहिलो संस्था थियो,” अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ।
फेसबुकको प्लेटफर्मले तालिबानलाई “आतङ्कवादी सङ्गठनका रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस सङ्गठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,” विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ।
खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो।
फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिबानविरोधी नीति लागू गरेको छ। यसका साथै फेसबुक आफैँ, इन्स्टाग्राम र ह्वाट्सएपले पनि यो नीति लागू गरेको छ। तालिबानका अधिकारी तथा प्रवक्ता ट्विटरमा पनि सक्रिय छन्।
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार