चलेनन् जडान भएका सीसी क्यामरा

  • Technology Khabar | २९ असार २०७९, बुधबार
चलेनन् जडान भएका सीसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

शान्तिसुरक्षा कायम गरेर अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले रुकुमपश्चिम सदरमुकामको मुख्य बजार क्षेत्रमा जडान भएका सीसी क्यामरा बेकाम्मे भएका छन् ।

विद्युत् अनियमितता हुँदा खलङ्गा बजारका विभिन्न स्थानमा वर्ष दिनअघि जडान भएका सीसी क्यामरा प्रयोगमा आउन सकेको छैन । चोरी तथा दुर्घटना हुँदा सर्वसाधारण जिल्ला प्रहरी कार्यालय जाने र छानबिनका लागि सीसी क्यामरा फुटेज हेर्न खोज्दा नभेटिने जनाएको छ।

मूसीकोट नगरपालिका–१, बागबजार निवासी गीता विकले चोरी हुँदा पनि घरनजिकैको सीसी क्यामरामा रेकर्ड हुन नसकेको गुनासो गरिन् । घरमा दुई तोला सुन, वाईफाईको राउटरलगायतका सामग्री हराएकोले उजुरी दिएको तर हालसम्म पत्ता नलागेको विकले बताईन्।

गत चैतमा मुसीकोट नगरपालिका–१ मा स्थानीय कोपिला बुढाथोकीलाई ठक्कर दिएर मोटरसाइकल भागेपछि ठक्कर दिने मान्छेको पहिचान गर्न घटनास्थलनजिकै जडान गरिएको सीसी क्यामरामा हेर्दा पनि प्रहरीले उक्त दृश्य रेकर्डमा नभएको जनाएको थियो । बजारमा चोरी, दुर्घटना र झगडा हुँदा सीसी क्यामरामा दृश्य कैद हुन नसकेको प्रहरी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले विद्युत् अनियमित हुँदा सीसी क्यामराले २४ सै घण्टा काम गर्न नसकेको बताए।

१५ लाख रुपियाँ लगानी गरेर मुसीकोट नगरपालिकाले गत वर्षको असारमा मुसीकोट खलङ्गाका मुख्य मुख्य स्थानमा सीसी क्यामरा जडान गरेको थियो। क्यामराको कन्ट्रोल भने जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। गोरखापत्रबाट

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...