
काठमाडौं ।
साझा यातायातको विद्युतीय बस सञ्चालनमा आएको छ।
साझा यातायातको विद्युतीय बस आज (बिहीबार) देखि सञ्चालनमा आएको हो।
साझाको ३ वटा विद्युतीय बस लगनखेल-बुढानीलकण्ठ र लगनखेल-एयरपोर्ट रुटमा सञ्चालन हुनेछ।
साझाको विद्युतीय बस महिला चालक र सहचालकले सञ्चालन गर्नेछन्।
यसका लागि साझाले ४ जना चालक र ५ जना सहचालक नियुक्त गरेको छ।
‘बस शिफ्टका आधारमा सञ्चालन गर्नुपर्ने हुन्छ। ४ जना महिलाबाट ३ वटा बस सँधै चलाउन सम्भव हुँदैन,’ साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले भने, ‘महिला र पुरुष दुवैले विद्युतीय बस चलाउने छन्।’
साझाले चीनको सीएचटीसी कम्पनीबाट पहिलो चरणमा ४० ओटा बस खरिद गर्ने योजना बनाएको छ।
सोही योजना अनुरुप साझाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेको हो।
यो परीक्षण सफल भएमा थप विद्युतीय बस नेपाल भित्र्याएर साझाले सेवा दिनेछ।
साझा यातायातले २०७७ चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो।
साझालाई विद्युतीय बस बिक्री गर्नका लागि ९ ओटा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनी छनोट भएको थियो।
प्रकाशित: २३ असार २०७९, बिहीबार