
काठमाडौं ।
म्याग्दी जिल्लाको बेनी नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयलाई ल्यापटप वितरण गरेको छ। नेपाल सरकारको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यालयलाई ल्यापटप वितरण गरेको हो।
ल्यापटप पाउनेमा बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित सरस्वती आधारभूत विद्यालय बगर फाँट, हंशबाहिनी आधारभूत विद्यालय खबरा, बेनपा–३ भकिम्लीको मुसुङ्डोले आधारभूत विद्यालय, बेनपा–४ सिङ्गाको बालमन्दिर आधारभूत विद्यालय डाँडाखेत, बेनपा–५ पुलाचौरको बालजागृति आधारभूत विद्यालय बगुवाखोला, ज्योति आधारभूत विद्यालय डडुवा र बेनपा–१० पात्ले खेतको विद्योदय आधारभूत विद्यालय वाखेत छन् ।
सो विद्यालयलाई ७१ हजार रुपियाँ पर्ने डेल कम्पनीको ब्रान्डेड ल्यापटप अनुदानस्वरूप उपलब्ध गराइएको बेनी नगरपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ।
नगर प्रमुख सुरत केसीले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, शिक्षा अधिकृत कमलप्रसाद ढकाल, स्रोत व्यक्ति मोहन बानियाँले ल्यापटप वितरणले शैक्षिक गुणस्तरमा सुधार आउने बताए।
कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण सिकाइ सहजीकरण गर्नका लागि विद्यालयमा इन्टरनेट क्षमता विस्तार, आइसिटी उपकरण खरिद तथा मर्मतसम्भार गर्न थप अनुदान उपलब्ध गराइएको स्रोत व्यक्ति जयराम सुवेदीले बताए। गोरखापत्रबाट
प्रकाशित: १९ असार २०७९, आईतवार