
काठमाडौं ।
निर्वाचन आयोगले मतदाता नामावलीमा सूचीकृत मृतकको नाम अनलाइनबाटै हटाउन सक्ने व्यवस्था गर्न लागेको छ । यसरी अनलाइनबाट नाम हटाउँदा जटिलता पनि आउन सक्ने सम्भावना रहेको अनुमान गर्दै आयोगले यसमा सबैलाई संवेदनशील भएर प्रयत्न गर्न आग्रह पनि गरेको छ ।
निर्वाचन आयोगले काठमाडौँमा बिहीबार आयोजना गरेको स्थानीय तह सदस्य निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली दर्तासँगै सूचीकृत नाम हटाउने काम पनि अनलाइनबाटै गर्न मिल्ने व्यवस्था गर्न लागेको बताए । उनले भने, “मृत्यु भइसकेकाले आफैँ हटाउन नमिल्ने भएकाले एकाघरका सम्बन्धित व्यक्तिले हटाउनुपर्ने हुन्छ।”
मृतक मतदाताको नाम हटाउन सबैलाई आआफ्नो स्तरबाट प्रयत्न गर्न उनले आग्रह गरे। त्यसअघि प्रमुख निर्वाचन आयुक्त थपलियाले मृतक मतदाताको नाम हटाउने जिम्मेवारी आयोग मात्रैको नरहेको बताएका थिए।
तर मतदाता नामावली ऐन २०७३ मा मृतक मतदाताको नाम आयोगले नै हटाउने व्यवस्था छ। ऐनको दफा १८ मा नामावलीमा नाम समावेश भएका व्यक्तिको मृत्यु भएमा एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले प्रमाणसहित नाम दर्ता अधिकारीसमक्ष सूचना दिनुपर्ने र उक्त सूचनाका आधारमा दर्ता अधिकारीले नाम हटाउने व्यवस्था छ। दफा १८ को उपदफा (२) मा भने परिवारका सदस्यबाट सूचना प्राप्त नभए पनि आयोगले अद्यावधिक गर्ने क्रममा मृत्यु भएका मतदाताको नाम सूचीबाट हटाउनुपर्ने उल्लेख छ। गोरखापत्रबाट
प्रकाशित: १७ असार २०७९, शुक्रबार