
काठमाडौं ।
ब्राजिलले मोबाइल फोनका लागि यूएसबी-सी चार्जर अनिवार्य गर्ने भएको छ।
यसअघि यूरोपियन यूनियनले पनि मोबाइल लगायत सबै साना तथा मझौला साइजका इलेक्ट्रोनिक्समा २०२४ बाट यूएसबी-सी चार्जर अनिवार्य गर्ने निर्णय गरिसकेको छ।
यसैलाई आधार मानेर ब्राजिलमा पनि यो नियम ल्याउन लागिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
हालै एनाटेलले यसबारेमा सर्वसाधारण तथा कम्पनीहरुको धारणा बुझ्न आगामी अगस्ट २६ सम्मको समयसीमा राखेर पब्लिक कन्सल्टेशन ४५/२०२२ जारी गरेको छ।
एनाटेलले कनेक्टर मात्र नभई चार्जिङ प्रोटोकलको मापदण्ड पनि बनाउने योजना बनाएको छ।
यसबाहेक रिटेल प्याकेज तथा म्यानुअलमा पनि उक्त डिभाइसका लागि आवश्यक न्यूनतम पावर तथा फास्ट चार्जिङ भए नभएको उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ।
यो नियम एप्पललाई केन्द्रित गरेर ल्याइएको र अन्य स्मार्टफोन निर्माताले भने यसअघि नै यूएसबी-सी चार्जर अपनाइसकेका छन्। एप्पलले आईफोनका लागि यसअघि नै यूएसबी-सी पोर्ट परीक्षण गरिरहेको बुझिएको छ।
प्रकाशित: १६ असार २०७९, बिहीबार