प्रदेश नम्बर १ का धार्मिकस्थल वरपरका होटलले प्रयोग गर्दैनन् डिजिटल भुक्तानी सेवा

  • Technology Khabar | १५ असार २०७९, बुधबार
प्रदेश नम्बर १ का धार्मिकस्थल वरपरका होटलले प्रयोग गर्दैनन् डिजिटल भुक्तानी सेवा
सांकेतिक तस्बिर

काठमाडौं ।

प्रदेश नम्बर १ का धार्मिकस्थल वरपर रहेका होटलले क्यूआर कोड, इ–वालेट, कनेक्ट आईपिएस, मोबाइल बैकिङ्ग लगायका डिजिटल भुक्तानीका साधनहरु प्रयोग नगर्ने देखिएको छ। उनीहरुले सेवा प्रदान गरेवापत प्राप्त गर्ने अधिकांश भुक्तानी नगदमै हुने गरेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश नं. १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीहरु नामक प्रतिवेदनअनुसार छनोटमा परेका २० ओटा होटलमध्ये एउटा होटलमा मात्र क्यूआर कोडको माध्यमबाट समेत भुक्तानी हुने गरेको तथा बाँकी १९ ओटा होटलमा भुक्तानीको मुख्य माध्यम नगद रहेको देखिएको छ।

सो क्षेत्रमा आधुनिक भुक्तानीका माध्यमहरु जस्तैः क्यूआर कोड, इ–वालेट, कनेक्ट आईपिएस, मोबाइल बैकिङ्ग आदिको प्रयोग नगन्य रहेको पाइएको उल्लेख छ।

कतिपय धार्मिकस्थल रहेको स्थान भौगोलिक रुपमा विकट र प्रविधिमा सहज पँहुच नभएका कारण वरपरका होटलको सेवा तथा सुविधाको आधुनिकीकरण तथा विविधिकरण हुन नसकेको केन्द्रिय बैंकको ठहर छ।

बैकिङ्ग ज्ञान तथा वित्तीय चेतनाको कमी, विद्युत तथा इन्टरनेट सेवाको अनियमितता तथा कतिपय अवस्थामा भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने सेवाको कमजोर गुणस्तरका कारण होटल सेवा वापतको रकम भुक्तानी स्वीकार गर्न भुक्तानीका आधुनिक माध्यम/उपकरणहरु जस्तैः क्यूआर कोड, पोस मेसिनहरु आदिको प्रयोग तथा विस्तारमा समस्या रहेको देखिएको छ।

केन्द्रीय बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता राखेको सन्दर्भमा ग्रामीण क्षेत्रमा रहेका धार्मिकस्थल वरपर आर्थिक कारोवार तथा दानभेटीको भुक्तानीका लागि आवश्यक डिजिटल भुक्तानीको माध्यम तथा इन्टरनेट लगायतका आवश्यक पूर्वाधारको विकास तथा सोको प्रयोग बढाउनु पर्ने बताईएको छ।

त्यसैगरी होटलले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा लक्षित पर्यटक (आन्तरिक र वाह्य) सम्म सूचना तथा जानकारी प्रवाह गर्न इन्टरनेट लगायत अन्य डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने तथा पर्यटन व्यवसायीले डिजिटल विज्ञापनमा जोड दिनुपर्ने देखिएको छ।

प्रतिवेदनअनुसार मन्दिरमा दान दक्षिणा गर्न, धार्मिकस्थलमा रहेका होटल तथा स्थानीय व्यापारको भुक्तानीका लागि आधुनिक भुक्तानीका साधनहरु जस्तैः इ–वालेट, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा अन्य डिजिटल भुक्तानीका माध्यमको प्रयोग बढाउनुपर्ने समेत सुझाब दिईएको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...