
काठमाडौं ।
फक्सकनले इन्डोनेसियामा विद्युतीय सवारी तथा ब्याट्री निर्माण गर्ने भएको छ।
हालै कम्पनीका अध्यक्ष यङ लिउले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग आफ्नो लगानी प्रक्रियाका बारेमा छलफल गरेका छन्।
उक्त लगानीबाट इन्डोनेसियामा ईभी ब्याट्री निर्माण तथा स्मार्ट सिटी पूर्वाधार निर्माण गरिने फक्सकनको विज्ञप्तिमा उल्लेख गरिएको डिजिटाइम्सले उल्लेख गरेको छ।
लिउ केही समयअघि भारतका प्रधानमन्त्रीलाई भेटेर त्यसलगत्तै इन्डोनेसिया पुगेका हुन्।
कम्पनीले स्थानीय इन्डोनेसिया ब्याट्री कर्पोरेशन, उर्जा कम्पनी इन्डिका तथा ताइवानमा रहेको ब्याट्री सेवा प्रदायक गोगोरोसँग मिलेर ईभी ब्याट्री प्लान्ट स्थापना गर्न इन्डोनेसियाको लगानी मन्त्रालयसँग यसै वर्षको शुरुवातमा सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो।
गत शनिबार राष्ट्रपति विडोडोसँगको भेटमा लिउले फक्सकनले हाल थुप्रै देशमा उत्पादन विस्तार तथा सञ्चालनका लागि बीओएल अर्थात् बिल्ड, अपरेट तथा लोकलाइज मोडल अपनाइरहेको डिजिटाइम्सले जनाएको छ।
फक्सकनले विश्वभर ईभी परिचालनमा सहयोग पुर्याउन स्थानीय उत्पादनको सहभागिता बढोस् भन्ने उद्देश्यले उक्त तरिका अपनाएको बुझिएको छ।
प्रकाशित: १५ असार २०७९, बुधबार