
काठमाडौं ।
नेपाल टेलिकममा हुने विभिन्न कागजातहरुको आदान प्रदानलाई छिटोछरितो तथा कानुनी रुपमा वैध तथा भरपर्दो बनाउन विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रणालीको शुरुवात गरिएको छ।
नेपाल टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयमार्फत पहिलो चरणमा २५० ओटा विद्युतीय हस्ताक्षर प्रणाली खरिद गरी २०७८ चैत १५ गतेदेखि उपत्यका भित्रका निर्देशनालय तथा विभागहरुमा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ।
पहिलो चरणमा सफलतापूर्वक जडान तथा सञ्चालन पश्चात् दोस्रो चरणमाउपत्यका बाहिरका निर्देशनालय तथा कार्यालयहरुमा विद्युतीय हस्ताक्षर प्रणालीको बिस्तार गरिने बताईएको छ।
नेपाल टेलिकमले रेडियन्ट इन्फोटेक नेपाल प्रा.लि.बाट विद्युतीय हस्ताक्षर प्रणाली खरिद गरेको हो।
नेपालमा विद्युतीय हस्ताक्षर प्रणाली उपलब्ध गराउने एक मात्र निकाय रेडियन्ट इन्फोटेक नेपाल प्रा.लि.रहेको र नेपाल सरकारका निकायहरुको लागि विद्युतीय हस्ताक्षर प्रदान गर्ने प्रायोजनार्थ २०७३ जेठमा रेडियन्टलाई नै तोकिएको छ।
विद्युतीय हस्ताक्षर के हो ?
विद्युतीय हस्ताक्षर क्रिप्टो टोकन, स्मार्ट टोकन वा स्मार्ट कार्डमा कुनै एक व्यक्तिलाई दिइने परिचय हो, जुन विद्युतीय माध्यमबाट गरिने कारोबारमा डिजिटल सिग्नेचर गर्नको लागि प्रयोग गरिन्छ। हाल क्रिप्टो टोकनमा उपलब्ध विद्युतीय हस्ताक्षरमा प्राइभेट की र पब्लिक की गरी दुई किसिमको साँचो राखिएको हुन्छ। प्राइभेट की आफूले सुरक्षित राख्नु पर्दछ र अरु कसलाई दिनु हुँदैन भने पब्लिक की इच्छाइएका व्यक्तिलाई दिन सकिन्छ। विद्युतीय हस्ताक्षर गर्दा प्राइभेट कीको माध्यमबाट गरिन्छ।
प्रकाशित: ८ असार २०७९, बुधबार