
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पब्जीलगायतका गेमहरुलाई नियन्त्रण गर्ने बताएका छन्।
सञ्चारमन्त्री कार्कीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा राखिएको मन्त्रालयका कार्यक्रमको बारेमा सांसदहरुको प्रश्नको जवाफ दिँदै पब्जीलगायतका गेमहरुलाई नियन्त्रण गर्ने र इन्टरनेटको सकारात्मक विषय ग्रहण गर्ने बताएका हुन्।
“पब्जीजस्ता धेरै विषय छन्। इन्टरनेटले एकातर्फ हाम्रो समाजलाई लाभान्वित पनि गरिरहेको छ भने अर्कोतर्फ केहि बिकृतिहरु पनि ल्याएको छ,” उनले भने, “यी सब कुराहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ छलफलकै क्रममा छ। इन्टरनेट सेवाबाट कसरी हाम्रो देशलाई अधिकतम फाईदा दिलाउने भन्नेमा सबैले योगदान गर्नुपर्दछ भन्नेमा आग्रह गर्न चाहन्छु।”
यसका साथै उनले साइबर अपराध र साइबर सुरक्षा फरक विषय भएको भन्दै यसमा सरकारले साइबर सुरक्षातर्फ ध्यान दिएको बताए। साइबर क्राइमलाई कसरी नियन्त्रण गर्ने भन्नेमा राज्यको ध्यान जानुपर्दछ र यसमा सरकार गंभिर रहेको बताए।
उनले हुलाकलाई प्रविधि मैत्री बनाउन लागेको भन्दै बदलिँदो परिस्थितीअनुसार आधुनिकिकरण गरेर लैजान खोजिएको बताए।
मन्त्री कार्कीले सूचना प्रविधि ऐन अहिलेको परिस्थितीअनुसार समयानुकुल गर्दै मन्त्रालयले अगाडि बढाईरहेको जानकारी समेत दिए।
प्रकाशित: १ असार २०७९, बुधबार