सिजीको इलेक्ट्रिक कार ‘निटा भी’, कम्पनीसँगै छैन चार्जिङ्ग पूर्वाधार

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार
सिजीको इलेक्ट्रिक कार ‘निटा भी’, कम्पनीसँगै छैन चार्जिङ्ग पूर्वाधार
फाइल तस्विर

काठमाडौं ।

-निर्दोष घोरसाईने

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको कम्पनी सिजी मोटर्सले आवश्यक पूर्व तयारी बिनै नेपालमा विद्युतीय सवारी बिक्री वितरण शुरु गरेको छ। सिजी मोटर्सले गत बुधबार नेपाली बजारमा इलेक्ट्रिक कार ‘निटा भी’ सार्वजनिक गरेको छ।

गाडी सार्वजनिक गरेर बुकिङ शुरु गर्दासम्म कम्पनीले विद्युतीय गाडीका लागि आवश्यक पूर्वाधार ‘चार्जिङ स्टेशन’ निर्माण गरिसकेको छैन्।

सिजी मोटर्सले विशालनगर स्थित भाटभटेनी सुपर मार्केट अघि शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले सञ्चालनमा ल्याएको यो नै एउटा मात्रै शोरुम हो। उक्त शोरुमबाटै कम्पनीले गाडी बिक्री वितरण गर्नेछ। तर सो शोरुममा पनि गाडी चार्ज गर्नका लागि एउटा पनि डीसी चार्जिङ जडान गरिएको छैन।

आफ्नो एक मात्र शोरुमा पनि कम्पनीले चार्जिङ पूर्वाधार निर्माण नगरेको सिजी मोटर्सका एक कर्मचारीले जानकारी दिए।

‘शोरुममा एउटा डीसी चार्जिङ स्टेशन निर्माण गर्ने योजना छ,’ ती कर्मचारीले टेक्नोलोजीखबरसँग भने, ‘कति किलोवाटको डीसी चार्जिङ स्टेशन राख्ने भन्ने विषय टुंग्याउन बाँकी छ।’

यस्तै कम्पनीले हालसम्म मुलुकका कुन कुन स्थानमा डिलरशिप खोल्ने भन्ने विषय पनि टुंगोमा पुर्याउन सकेको छैन। यसका साथै कम्पनीले गाडी सर्भिसको व्यवस्था पनि गरिसकेको छैन् । सर्भिसका लागि ललितपुरको हात्तीवन क्षेत्रमा वर्कशप सप सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अघि बढाइसकेको ती कर्मचारीले जानकारी दिए।

ती कर्मचारीका अनुसार अहिले कम्पनीले ग्राहकको प्रतिक्रिया बुझ्नका लागि मात्र गाडी सार्वजनिक गरिएको हो।

‘ग्राहकबाट कस्तो प्रतिक्रिया आउँछ भनेर हेर्न खोजिएको थियो। गाडी सार्वजनिक हुनु अघिदेखि नै थुप्रै इन्क्वाएरी आइरहेको छ। यसलाई सकारात्मक रुपमा लिएका छौं,’ ती कर्मचारीले भने।

ती कर्मचारीको भनाईलाई आधार मान्ने हो भने पनि सिजी मोटर्सले ग्राहकहरुले गाडी कति रुचाउँछन् भन्ने सर्भे गर्न खोजेको बुझ्न सकिन्छ। निटा भीलाई ग्राहकले कति रुचाउँछन् भन्ने आधारमा थप लगानी गर्ने योजनामा सिजी मोटर्स रहेको देखिन्छ। इलेक्ट्रिक सवारीमा गरिने लगानी सूरक्षित हुनेमा विश्वस्त देखिए मात्र कम्पनीले पूर्वाधार विकासमा लगानी गर्न सक्नेछ।

इलेक्ट्रिक भेहिकलका लागि डीसी चार्जिङ स्टेशन महत्वपूर्ण पूर्वाधार हो तर कम्पनीसँग आफ्नै शोरुममा पनि गाडी चार्ज गर्ने डीसी चार्जिङ स्टेशन छैन्।

हाल ग्राहकहरुले घरमा नै सिधै बिजुली प्लगमा जोडेर एसी चार्ज गर्नुपर्ने बाध्यता छ।

डीसी चार्जिङ स्टेशन निर्माण मूल्य कम्पनी अनुसार फरक पर्छ। ३० किलोवाटको डीसी चार्जिङ स्टेशन निर्माण गर्न करिब १५ देखि २५ लाख रुपैयाँ खर्च लाग्ने नेपालका इलेक्ट्रिक सवारी बिक्रेताहरु बताउँछन्।

गाडी सार्वजनिक गर्नु अघि नै आवश्यक पूर्वाधार तयार गर्दा यदि ग्राहकले गाडी रुचाएनन भने लगानी डुब्ने खतरा पनि उच्च रहन्छ। निटा भी नेपालका लागि नयाँ ब्राण्ड हो। ग्राहकको प्रतिक्रिया बुझेर मात्रै नयाँ ब्राण्डका लागि आवश्यक पूर्वाधारमा लगानी गर्ने योजनामा सिजी मोटर्स छ।

हाल कम्पनीसँग डीसी चार्जिङ उपलब्ध नभएकाले नेटा भी खरिद गर्ने ग्राहकले आफ्नै घरबाट एसी चार्जिङ गर्नु पर्ने हुन्छ। साथै गाडीमा कुनै प्राविधिक गडबडी देखिए त्यसलाई समाधन गर्न सक्ने उच्चस्तरिय वर्कशप पनि कम्पनीसँग रहेको छैन।

कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेटले उपलब्ध गराएको सहुलियतको लाभ उठाउनका लागि हतारमा गाडीको बिक्री वितरण शुरु गरेको बुझ्न सकिन्छ।

जेठ १५ गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेट निटा भी जस्तो सानो मोटर क्षमता भएका गाडीलाई प्रोत्साहन गर्नेगरी आएको छ। सिजी मोटर्सले नेपाल ल्याएको निटा भीमा ७० किलोवाट आवरको मोटर छ। १०० किलोवाट भन्दा कम क्षमता भएका मोटरका इलेक्ट्रिक गाडी आयातमा अन्तःशुल्क नलाग्ने व्यवस्था बजेटमा गरिएको छ।

अन्तःशुल्क नजोडिने भएकाले निटा भीको मूल्य बजारमा उपलब्ध ठूला मोटर जडिट इलेक्ट्रिक कारको तुलनामा किफायती छ। कम्पनीले निटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ। इलेक्ट्रिक सवारी चढ्न चाहना राख्नेका लागि यो उपयुक्त धेरै महँगो मूल्य पनि हैन। सस्तो मूल्य र आकर्षक फिचर उक्त निटा भीले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

के हो एसी र डीसी चार्जिङ ?

इलेक्ट्रिक गाडी एसी र डीसी चार्जिङबाट चार्ज गर्न सकिन्छ।

एसी (नर्मल चार्जिङ)
एसी (नर्मल चार्जिङ)लाई लेभल वान चार्जिङ पनि भनिन्छ । यो घरमै जडान गरिएको थ्रिफेज विद्युतबाट चार्ज गर्न सकिन्छ। यो चार्जिङ गर्ने सबैभन्दा सामान्य तरिका हो र यो तरिकामा सवारीको मोडल अनुसार शतप्रतिशत चार्ज गर्न १८ घण्टासम्म लाग्छ।

यो विधि १२० भोल्ट एसी आउटलेटमा गरिन्छ । यो विधि साना ब्याट्री भएका कारहरु चार्ज गर्न उपयुक्त हुन्छ ।

डीसी (फास्ट चार्जिङ)
डीसी (फास्ट चार्जिङ) लेभल थ्री चार्जिङ भनिन्छ। गाडीलाई छिटो चार्ज गर्नका लागि डीसी चार्जिङको आवश्यक पर्छ। डीसी फास्ट चार्जिङमा अफबोर्ड इक्विपमेन्टको सहयोगले सिधै ब्याट्रीलाई आवश्यकता अनुसारको उर्जा प्राप्त हुने गरी जोडिन्छ। यो विधिबाट चार्ज गर्दा विद्युतीय सवारी साधनलाई ८० प्रतिशत चार्ज गर्न ९० मिनेट भन्दा कम समय लाग्छ ।

फास्ट चार्जिङका लागि छुट्टै स्पेशल चार्जिङ स्टेशन आवश्यक पर्छ। जसमा ४८० भोल्ट विद्युत हुन्छ। यस्ता स्टेशनहरुले सामान्यतया १२० किलोवाटसम्मका उच्च सामर्थ्य भएको डीसी करेन्ट दिन्छन् र यसका लागि कुनै अनबोर्ड एसी तथा डीसी कन्भर्टरको जरुरी पर्दैन। यसमा विद्युत सिधै ब्याट्रीमा पठाइन्छ।

विश्वभर इलेक्ट्रिक भेहिकल चार्ज गर्नका लागि कम्पनीहरुले चार्जिङ्ग स्टेशनमा डीसी चार्जिङ्ग सिस्टम बनाउने गर्दछन्। नेपालमा पनि निटा भी गाडीको मूल्यमा उपलब्ध हुने अन्य इभी ब्राण्ड तथा बिक्रेता कम्पनीहरुले कम्तिमा एक ओटा आफ्नो शोरुममा देखाउनका लागि भएपनि डीसी (फास्ट चार्जिङ) जडान गर्ने गरेका छन् ।

तर सिजीसँग भने यस्तो सुबिधा पनि छैन्।

कस्तो छ निटा भी ?
निटा ब्रान्ड चीनको अग्रणी मोटर उत्पादक कम्पनी होजोन अटोमोवाइलको उत्पादन हो।

सिजी मोटर्सकाअनुसार निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। ब्याट्री फुल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ। निटा भीले एक पटकको फुल चार्जमा ४ सय १ किलोमिटर रेन्ज दिन्छ।

निटा भीमा ३० वटाभन्दा बढी फिचर छ। निटा भीमा प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेयरिङ ह्विल, ड्राइभर इन्फर्मेशन डिस्प्ले, ठूलो आकारको भर्टिकल इन्फोटेनमेन्ट सिस्टम, पार्किङ ब्रेक लगायत अन्य प्रशस्तै फिचर्स उपलब्ध छ ।

निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिईएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार