
काठमाडौं ।
प्रदेश नं १ सरकारले आफ्नो प्रदेशका लागि प्रादेशिक डाटा सेन्टर बनाउने भएको छ। सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डाटा सुरक्षाको लागि डाटा सेन्टर स्थापना गरिने घोषणा गरे।
सरकारी योजनाअनुसार आगामी आर्थिक वर्षमा प्रदेश १ सरकारले टेलिफोन सेवा, ईन्टरनेट र केबल नेटवर्कलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
प्रदेश सरकारले सरकारी सूचना प्रणालीलाई सुरक्षित, व्यवस्थित र उपयोगी बनाउन तथ्याङ्क र सूचना प्रणालीको उत्पादन एवम् सञ्चालनमा एकरुपता कायम गर्ने समेत बताएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत र कार्यय्षक्रमगत सुदृढीकरणका लागि गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने योजना लिएको छ भने मनमोहन प्राविधिक विश्वविद्यालयमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
यसका साथै आगामी आवमा प्रदेश आविष्कार केन्द्रलाई थप सुदृढीकरण गरिने भएको छ।
प्रदेश नं १ सरकारले वैज्ञानिक अनुसन्धानलाई प्रदेशमा प्रवर्द्धन गर्दै विज्ञान प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने संस्था र व्यक्तिलाई प्रोत्साहन र सम्मान गरिने योजना नीति तथा कार्यक्रममा समावेश गरेको छ।
आगामी आवमा प्रदेश सरकारले सर्वसाधारणलाई यातायात कार्यालयबाट प्रदान गरिने सेवालाई सूचना प्रविधिको माध्यमबाट छिटो, छरितो, र भरपर्दो बनाउँदै लगिने बताएको छ।
यसैगरी संचार क्षेत्रलाई पूर्वाधारयुक्त र प्रविधि मैत्री बनाइनेछ भने सञ्चारकर्मीको क्षमता अभिवृद्धि गरिने भएकोछ । मिडिया काउन्सिल गठन गरी सञ्चार क्षेत्रलाई व्यवस्थित बनाइने योजना ल्याएको छ ।
प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार