नेपाल डिजिटल रुपान्तरणको संघारमा छ: सञ्चारमन्त्री कार्की

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
नेपाल डिजिटल रुपान्तरणको संघारमा छ: सञ्चारमन्त्री कार्की
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल नेपाल फ्रेमवर्क आएपछि नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन्।

सञ्चार मन्त्री कार्कीले अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा रुवाण्डामा आयोजना भईरहेको विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै डिजिटल नेपाल फ्रेमवर्क २०७६ लागू गरेपछि डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका हुन्।

उनले डिजिटल नेपाल फ्रेमवर्कले नेपालका जनताहरुको डिजिटल क्षमतालाई बढाउने विश्वास गरे।

नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क-२०७६ लागू गरेको बताउँदै मन्त्री कार्कीले सो ‘फ्रेमवर्क’ आर्थिक वृद्धिका लागि डिजिटल पहलकदमीले कसरी योगदान गर्नसक्छ भन्ने बारेमा मार्ग दर्शन गर्ने मूल दस्तावेज भएको स्पष्ट पारे

‘‘फ्रेमवर्कले छोटो समयमा थोरै स्रोत साधनले नवीनतम उपायहरु पत्ता लगाउन र मुख्य चुनौतीलाई समाधान गर्न तथा विश्व अर्थतन्त्रमा नेपाल सहभागी हुनका लागि प्राप्त अवसरको पहिचान गर्न मार्गचित्र प्रदान गरेको छ’’, सञ्चारमन्त्री कार्कीले भने।

फ्रेमवर्क नेपालमा डिजिटल जग बसाल्न केन्द्रित रहेको उनले स्पष्ट पारे।

सो अवसरमा यूनिभर्सियल सर्भिस अब्लिगेसन फण्डको उपयोग गरेर सञ्चारमा नजोडिएकालाई तत्काल जोड्न, डिजिटल अर्थतन्त्रमा सहभागी हुनका लागि व्यक्तिको क्षमता सुधार गर्न र डिजिटल सरकारको जगलाई मजबुत पार्न सरकार प्रतिवद्ध रहेको कुरा उनले स्पष्ट पारे।

‘दिगो विकासका लागि सञ्चारमा नजोडिएकालाई जोड्ने’ भन्ने यस वर्षको सम्मेलनको नारा कठिन भौगोलिक बनोट, गरिबी एवम् डिजिटल साक्षरता जस्ता चुनौती भएको हाम्रो देश नेपालका लागि एकदमै सान्दर्भिक रहेको मन्त्री कार्कीले उल्लेख गरे।

उनले नेपाल सरकारले नीतिगत सुधार र नयाँ कानून निर्माणसँगै सन् २०२५ सम्ममा सबै क्रियाकलापमा डिजिटल प्रविधि लागू गर्ने उद्देश्य राखेको बताए।

विश्व दूरसञ्चार युनियनमा आवद्ध देशको आपसी सहकार्यबाट ‘डिजिटल क्षमता सुधार गर्न सहयोग पुग्ने उनले आशा व्यक्त गरेका छन्।

विश्व दूरसञ्चार विकास सम्मेलन जुन ६ देखि १६ तारिखसम्म आयोजना भईरहेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार