
काठमाडौं ।
नेपालसहित दक्षिण तथा दक्षिणपूर्वी एसियाको डिजिटल सुरक्षाको अवस्थासम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ।
आज डिजिटल युगमा मानव अधिकार अन्तरराष्ट्रिय सम्मेलनका क्रममा राइट्सकनमा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो।
इन्गेजमिडियाले अक्सेन प्राइभेसी टेक फाउन्डेशनसँगको सहकार्यमा गरेको उक्त अध्ययन प्रतिवेदनको नाम ‘थ्रु द लूकिङ ग्लास: डिजिटल सेफ्टी एन्ड इन्टरनेट फ्रीडम इन साउथइस्ट एसिया’ रहेको थियो।
उक्त रिपोर्टमा नेपालसहित ६ ओटा फरक फरक देशका डिजिटल सुरक्षा तथा इन्टरनेट स्वतन्त्रताको अवस्थाबारेको प्रतिवेदनको सार समेटिएको छ।
नेपालको प्रतिवेदन भने डिजिटल राइट्स नेपाल नामक संस्थाले बुझाएको थियो।
उक्त रिपोर्ट अनप्याकिङ द स्टेट अफ डिजिटल सेफ्टी एन्ड इन्टरनेट फ्रीडम इन द एसिया प्यासिफिक रिजन शीर्षकको इभेन्टमा राइट्सकन प्लेटफर्ममार्फत् सार्वजनिक गरिएको थियो।
उक्त इभेन्टमा बोल्दै डिजिटल राइट्स नेपालका अध्यक्ष सन्तोष सिग्देलले मानव अधिकारकर्मी तथा जोखिममा रहेका समुदायमा डिजिटल सुरक्षाबारे रहेको दक्षता र ज्ञानको खाडल, मानव अधिकारकर्मीमाथि हुने अनलाइन हिंसा तथा द्वेषपूर्ण अभिव्यक्तिको नकारात्मक प्रभाव, मानव अधिकारकर्मीहरुलाई डिजिटल हमलाबाट जोगाउन कानून तथा नीतिको अभाव, पर्याप्त तथा दूरसञ्चार कम्पनीहरुको ग्राहकको अधिकार सुरक्षित गर्ने नीति तथा चासोको पर्याप्त अनुपलब्धता बारे प्रकाश पारेका थिए।
उनले नेपाली महिला पत्रकार तथा तेस्रो लिंगी समुदायविरुद्ध हुने डिजिटल हमलाले उनीहरुलाई जोखिममा पारेको पनि उल्लेख गरे।
प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार