
काठमाडौं ।
गण्डकी प्रदेश सरकारले एम्बुलेन्सलाई जीपीएसबाट ट्रयाक गर्ने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्याक्रममा प्रदेश भित्र सञ्चालन हुने एम्बुलेन्सलाई जीपीएस प्रणालीबाट ट्रयाक गर्ने घोषणा गरेको हो।
‘प्रदेशभित्र सञ्चालित एम्बुलेन्स सेवालाई जीपीएस ट्रयाकिङमार्फत् एकीकृत प्रणालीमा आबद्धगरी आवश्यक परेको समयमा तत्काल एम्बुलेन्स सेवा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
साथै, एम्बुलेन्स नभएका स्थानीयतहमा लागत साझेदारीमा एम्बुलेन्सको व्यवस्था गर्ने घोषणा गरिएको छ।
युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश प्रमुखसँग युवा वैज्ञानिक कार्यक्रम शुरु गरिने उल्लेख छ ।प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रम रहेको छ।
साथै, विज्ञान तथा प्रविधिको ज्ञान र सीप आदान प्रदान गर्दै नवप्रवर्तन र वैज्ञानिकको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक सम्मेलन आयोजना गर्ने प्रदेश सरकारले नीति लिएको छ।
गण्डकी विश्वविद्यालय र सामुदायिक क्याम्पससँगसँगै अवधारणाअन्तर्गत गण्डकी विश्वविद्यालय र सामुदायिक क्याम्पसबीचको साझेदारीमा कम्तीमा ६ वटा क्याम्पसमा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गरिनेछ।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार