विद्युतीय सवारी सञ्चालनमा आउने

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
विद्युतीय सवारी सञ्चालनमा आउने
फाइल तस्बिर

काठमाडौं ।

बुद्ध जन्मस्थल लुम्बिनीमा त्यत्तिकै थन्किएका विद्युतीय सवारीसाधन अब दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ।

लुम्बिनी विकास कोषले विद्युतीय सवारीसाधन सञ्चालनका लागि कार्यविधि बनाएर दुई महिनापछि सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

“कार्यविधि बनाएर थन्किएका विद्युतीय सवारी सञ्चालनमा ल्याउने निर्णय काठमाडौँमा सम्पन्न लुम्बिनी विकास कोषको बैठकले गरिसकेको छ,” कोषका सदस्य सचिव सानुराजा शाक्यले भने ।

लुम्बिनी विकास कोषको बैठकले कार्यविधि निर्माणका लागि तीन सदस्यीय कार्यदलसमेत बनाएको छ । एसियाली विकास बैङ्कले डेढ वर्षअगाडि लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी अनुदानमा उपलब्ध गराएको थियो ।

एसियाली विकास बैङ्कको क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडको लागतमा बस तथा ट्याक्सी भित्रिएका हुन् । सरकारले यी सवारीसाधनका लागि साढे तीन करोड भन्सार शुल्क बेहोरेको छ ।

यी गाडी सञ्चालनमा आए लुम्बिनी आउने पर्यटक लुम्बिनीभित्र र बुद्ध सर्किट क्षेत्रमा घुम्न सहज हुने सदस्य सचिव शाक्यको भनाइ छ ।

ती साधन सञ्चालनका लागि भन्दै लुम्बिनी विकास कोषले चार्जिङ स्टेसन निर्माण गरिसकेको छ तर कार्यविधि नबन्दा लामो समय विद्युतीय गाडी त्यत्तिकै थन्किएका हुन् । एडीबीले पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयका नाममा ती गाडी पठाएको भए पनि अझै मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिसकेको छैन ।

१९ सिट क्षमताका ती बस अन्तर्राष्ट्रिय मापदण्डका छन् । बसमा कार्डबाट भुक्तानी गर्ने अटोमेटिक सिस्टम जडान गरिएको छ । यी बसहरू एक टक फुल चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ।गोरखापत्रबाट

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...