गण्डकी प्रदेशमा मोबाइल बैंकिङ्गका सक्रिय प्रयोगकर्ताहरु १४.४ लाख

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
गण्डकी प्रदेशमा मोबाइल बैंकिङ्गका सक्रिय प्रयोगकर्ताहरु १४.४ लाख

काठमाडौं ।

गण्डकी प्रदेशमा मोबाइल बैंकिङ्गको प्रयोगकर्ताहरु १८ लाख नाघेका छन्। यसका साथै इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या समेत डेढ लाख नाघेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गण्डकी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु १३.४६ प्रतिशतले बढेका छन भने इन्टरनेट बैंकिङ्ग सेवा लिनेहरु ११५ प्रतिशतले बढेका छन्।

तथ्यांकअनुसार पुस मसान्तसम्म इन्टरनेट बैंकिङ्ग सेवा लिनेहरु १ लाख ५१ हजार ७०० जना रहेका छन्। त्यसैगरी मोबाइल बैंकिङ्ग दर्ता गर्नेहरुको संख्या १८.६ लाख पुगेको उल्लेख छ। इन्टरनेट र मोबाइल बैंकिङ्गका सेवाग्राहीहरुमध्ये सक्रिय प्रयोगकर्ताहरु क्रमशः १.१ लाख र १४.४ लाख रहेको केन्द्रिय बैंकले जनाएको छ।

गण्डकी प्रदेशमा एटिएमको संख्यामा भने कमी आएको देखिएको छ। प्रतिवेदनअनुसार २०७८ असारमा ५२० ओटा एटिएमहरु रहेकोमा २०७८ पुस मसान्तमा आउँदा सो संख्या ५०५ मा झरेको छ।

राष्ट्र बैंककाअनुसार गण्डकी प्रदेशमा पर्यटन प्रबर्द्धनको लागि पदमार्गहरुमा सुरक्षा व्यवस्था तथा अत्यावश्यक सञ्चार सुविधा एवम् मौसम पूर्वानुमान सूचना प्रणालीको अभाव रहेको छ।

त्यसैगरी वित्तीय साक्षरताको कमीका कारण वित्तीय सेवाको माग पक्ष कमजोर रहेको र विद्युतीय कारोवारको दायरा समेत अपेक्षित रुपमा विस्तार हुन नसकेको अवस्थामा रहेको देखिन्छ। यस्तै वित्तीय साक्षरता एवम् विद्युतीय वित्तीय साक्षरता बढाउनुपर्ने चुनौती रहेको छ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार