
काठमाडौं ।
व्यवसायीले सहयोग गरेको खण्डमा चोरीका मोबाइल फोन बिक्री गर्नेलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने भएको छ।
चोरीका मोबाइल फोन बिक्री गर्नेको बारेमा जानकारी प्राप्त भए कारबाही गर्न प्राधिकारण तयार रहेको अध्यक्ष पुरुषोत्तम खनालले बताए।
मोबाइल व्यवसायीका समसामयिक, आर्थिक, बैंकिङ, आयात, एमडीएमएस तथा अवैध गतिविधिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मोबाइल फोन इम्पोर्टर्स एसोसिएशनका अध्यक्ष दिपक मलहोत्राले नेपालमा अझै पनि करिब ४० प्रतिशत चोरीका फोन प्रयोग हुने बताएका थिए।
‘को चोर हो जानकारी दिनुहोस्। त्यस्तालाई कारबाही गर्न प्राधिकरण तयार छ,’ खनालले भने, ‘चोरीका मोबाइल बेच्नेलाई ट्र्याकिङ गर्न प्राधिकरणले पोर्टल बनाउने छ। त्यसमा डाटा राखौं र चोरीका फोन बेच्ने पत्ता लगाउँ।’
मोबाइल व्यवसायीहरु प्राधिकरणको विरोधी नभई सहयोगी भएको पनि उनले जिकिर गरे।
भेण्डरको नाजायज माग र कोभिडका कारण एमडीएमएस प्रणाली सञ्चालनमा ल्याउन ढिलाइ भएको उनले प्रष्ट्याए।
एमडीएमएस प्रणाली सम्बन्धमा आगामी सोमबार भेण्डर र प्राधिकरणबीच अन्तिम वार्ता हुन लागेको पनि उनले बताए।
साथै, एमडीएमएस प्रणालीको कष्टम मोडल सुरु भइसकेको उनले जानकारी दिए।
*सम्पादित समाचार
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार