
काठमाडौं ।
साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ। व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीन ओटा बस खरिद गरी रात्रिकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो।
साझाले बुधबार साँझ आठ जना यात्रुसहित ८४ बोरा सिमेन्ट राखेर बसको परीक्षण गरेको थियो । सो बारेमा साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणी दिक्षितले ट्वीट गरेर जानकारी दिए। उनले राती ८४ ओटा सिमेन्टका बोराहरु राखेर बसको रेन्ज क्षमता परीक्षण गरिएको उल्लेख गरेका छन्।
Night-time driving range test with full load (simulated with 84 bags of cement) of @SajhaYatayat’s three new electric buses with Government engineer inspector. pic.twitter.com/FJlfIdWMVb
— Kanak Mani Dixit (@KanakManiDixit) May 25, 2022
साझा बसले चीनको सीएचटीसी कम्पनीबाट पहिलो चरणमा ४० ओटा बस खरिद गर्ने योजना लिएको छ। जसमध्ये शुरुवाती चरणमा ३ ओटा बस नेपाल आईसकेका छन् र बाँकी आउने क्रममा छन्। साझाले गरेको बोलपत्र आव्हानमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनीलाई छनोट गरेको जनाएको छ।
नेपाल आएका सोही बसहरु हाल परीक्षणको क्रममा गुडाईएका हुन्।
एक पटक पुरा चार्जमा बसको पुर्ण क्षमता (पे लोड) मा कति गुड्न सक्छ, काठमाडौं र आसपासका सडकको अवस्था अनुसार गुड्न सक्ने नसक्ने र बसको ग्राउण्ड क्लिरेन्सको अवस्था कस्तो रहेको छ जस्ता अवस्थाको परीक्षण भएको बताईएको छ ।
परीक्षणको रिपोर्ट आएपछि थप अध्यन गरेर बाँकी ३७ ओटा गरी पहिलो चरणमा जम्मा ४० ओटा विद्युतीय वस सञ्चालन गर्ने तयारी छ।
चालक र ह्वीलचेयरसहित २६ सीट क्षमताको गाडीले ललितपुर र काठमाडौंमा सेवा विस्तार गर्ने छ। यो गाडी अपाङगमैत्री हुने साझाले जनाएको छ।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार