
काठमाडौं ।
शाओमीले सोमबार जर्मन क्यामरा निर्माता लाइकासँग आफ्नो सहकार्य हुने घोषणा गरेको छ। यसका साथै शाओमी र लाइकाद्वारा संयुक्त रूपमा विकास गरिएको पहिलो इमेजिङ फ्ल्यागशिप स्मार्टफोन यस वर्ष जुलाईमा आधिकारिक रूपमा अनावरण गरिनेछ।
लाइकाले यसअघि नै ह्वावे, पानासोनिक र शार्पसँग साझेदारी गरिसकेको छ। यसअघि वनप्लस र ओपोले वनप्लस १० प्रो र ओपो फाइण्ड एक्स ५ सिरिजका स्मार्टफोनहरूको लागि स्विडेनी फोटोग्राफी कम्पनी हासेलब्लेडसँग हात मिलाएका थिए।
लाइका-ब्रान्डेड क्यामरा शाओमीको आगामी फ्ल्यागशिप स्मार्टफोन, शाओमी १२ अल्ट्रासँग डेब्यू गर्ने चर्चा छ। यो स्मार्टफोन गत वर्षको एमआई ११ अल्ट्राको सक्सेसरको रुपमा आउने छ।
शाओमीले एक प्रेस विज्ञप्तिमार्फत कम्पनीको आगामी फ्ल्यागशिप स्मार्टफोनको लागि क्यामरा टेक्नोलोजीहरू सह-विकास गर्न लाइकासँग आफ्नो दीर्घकालीन रणनीतिक सहयोगको घोषणा गरेको बताएको छ।
लाइका ब्रान्डेड शाओमी स्मार्टफोन यसै वर्ष जुलाईमा ल्याइनेछ। शाओमीले बताएअनुसार दुबै कम्पनीहरूले मोबाइल इमेजिङको सन्दर्भमा समान विचारहरू साझा गर्छन् र उच्च प्राविधिक सफलताहरू र सौन्दर्य खोजहरू मार्फत मोबाइल इमेजिङ युगमा अप्टिकल कार्यसम्पादन र फोटोग्राफिक अनुभवलाई निरन्तर अन्वेषण गर्न उत्सुक छन्।
सहकार्यले शाओमीको इमेजिङ रणनीतिलाई बलियो बढावा दिने शाओमीका सिईओ लेई जुनले बताए।
प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार