
काठमाडौं ।
कोभिड-१९ महामारीका कारण साथीहरु तथा शैक्षिक क्रियाकलापबाट अलग हुँदा पूर्व महामारीको तुलनामा यूवा तथा बालबालिकाको मोबाइल तथा कम्प्यूटरको स्क्रिनमा बिताउने समयमा उल्लेखनिय रुपमा वृद्धि भएको छ।
कमन सेन्स मिडिया गैर नाफामुलक संस्थाले गत मार्चमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२१ मा विगत ४ वर्षको तुलनामा यूवा तथा बालबालिकाले स्क्रिनमा बिताउने समय उल्लेखनिय रुपमा वृद्धि भएको देखिन्छ। यूवा तथा बालबालिकाले पछिल्लो २ वर्षमा स्क्रिनमा बिताउने समय ६ गुणाले बढेको टेकन्यूजवर्ल्डले लेखेको छ।
स्क्रिनमा बिताउने समय वृद्धि हुनुको प्रमुख कारणको रुपमा कोभिड-१९ महामारीलाई लिइएको छ। उक्त समयमा टिकटक लगायत अनलाइन गेमिङको लोकप्रियता बढ्दै गएको अध्ययनमा देखिएको छ। रिसर्च कोभिड–१९ को महामारीपछि दैनिकी सामान्यतर्फ अग्रसर हुँदा स्क्रिनमा बिताउने समयमा भिन्नता आएको छ कि छैनन भन्नेमा केन्द्रित थियो।
कोभिड-१९ महामारीको संक्रमण फैलन रोक्नका लागि पछिल्लो दुई वर्षमा नेपालमा पनि २ पटक लकडाउन लगाइएको थियो। महामारीको समयमा अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्र ठप्प भएको थियो। शैक्षिक गतिविधि, आर्थिक क्रियाकलाप तथा हिड्डुलमा प्रतिबन्द हुँदा समय बिताउने माध्यम नै मोबाइल तथा कम्प्यूटरको स्क्रिन बन्न पुगेको थियो। जसका कारण युवा पुस्ताहरु अनलाइन गेम, भिडियो लगायत क्रियाकलापमा सहभागी भएर समय बेत्तित गर्न बाध्य थिए ।
रिसर्चमा अमेरिकाका ८ देखि १२ र १३ देखि १८ वर्षका किशोरहरुले अनलाइन कक्षा बाहेक अन्य क्रियाकलापका लागि डिजिटल उपकरण प्रयोग गरेर बिताएको समयमा केन्द्रित थियो।
किशोर तथा किशोरीहरुले शैक्षिक गतिविधि बाहेक अन्य कार्यका लागि स्क्रिनमा खर्चिने समय उल्लेखनिय रुपमा बढेको पाइएको छ। कोभिडको समयमा उनीहरुमा सामाजिक सञ्जाल र अनलाइन गेमिङ प्रतिको मोह धेरै हदसम्म बढेको पाइएको उल्लेख छ।
प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार