
काठमाडौं ।
बेइजिङले शुक्रबार चीनको ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेड र जेडटीई कर्पोरेशनका फाइभजी उपकरणको प्रयोगमा प्रतिबन्ध लगाउने क्यानडाको योजनाको विरोध गरेको बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूलाई ब्रीफिङका क्रममा चिनियाँ कम्पनीहरूको वैध हितको रक्षा गर्न चीनले आवश्यक सबै उपायहरू अवलम्बन गर्ने बताए।
यसअघि क्यानाडाले बिहीबार राष्ट्रिय सुरक्षाको रक्षा गर्न चीनको ह्वावे र जेडटीईका ५जी गियरको प्रयोगमा प्रतिबन्ध लगाउने योजना बनाएको बताएको थियो। यसका साथै क्यानाडा बाँकी तथाकथित फाइभ आइज इन्टेलिजेन्स साझेदारी नेटवर्कमा सामेल हुने बताएको छ।
“हामी हाम्रो ५जी नेटवर्कबाट ह्वावे र जेडटीईलाई हटाउन चाहन्छौं,” उद्योग मन्त्री फ्रान्कोइस-फिलिप स्याम्पेनले ओटावामा पत्रकारहरूलाई भने।
स्याम्पेनकाअनुसार कम्पनीहरूले जून, २०२४ सम्ममा आफ्नो ५जी उपकरणहरु हटाउन आवश्यक हुनेछ र त्यसमा प्रतिपूर्ति गरिने छैन। उनीहरुको फोरजी उपकरण प्रयोग गर्ने कम्पनीहरूले २०२७ को अन्त्यसम्ममा उपकरण हटाउनु पर्नेछ।
प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार