
काठमाडौं ।
भिडियो शेयरिङ एप टिककटक गेमिङ दुनियाँमा प्रवेश गर्ने भएको छ। टिकटकले गेम खेल्न मिल्ने परीक्षणहरु अहिले भियतनाममा गरिरहेको छ। यदि यो परीक्षण सफल भएमा अन्य देशका प्रयोगकर्ताले समेत टिकटकमा गेम खेल्न सक्नेछन्।
टिकटकको परीक्षण सफल भएमा यसले गेमिङ दुनियाँमा ठूलो उथलपुथल ल्याउने यस विषयसँग सम्बन्धित चार व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।
एक अर्ब सक्रिय प्रयोगकर्ता रहेका टिकटक प्लेटफर्ममा गेम खेल्न सकिएमा विज्ञापनको राजश्व बढ्नुका साथै प्रयोगकर्ताले एपमा बिताउने समय पनि वृद्धि हुने अपेक्षा गरिएको छ।
३५ वर्षभन्दा कम उमेर समूहका ७० प्रतिशतभन्दा भियतनाका जनसंख्या सामाजिक सञ्जाल टिकटक, फेसबुक, यूट्युब, गुगललगायत प्रयोग गर्छन्।
चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटक दक्षिणपूर्व एशियाको गेमिङ क्षेत्रलाई अझ ब्यापक रुपमा रोलआउट गर्ने योजनामा रहेको छ। उक्त कदम चालू आवको तेस्रो क्वाटरसम्म आउने बताईएको छ।
गेम कस्तो खालको हुने भन्ने विषय सार्वजनिक हुन बाँकी रहेकाले स्रोतले आफ्नो पहिचान खुलाउन अस्वीकार गरेको उल्लेख छ।
टिकटकका एक प्रतिनिधिकाअनुसार कम्पनीले तेस्रो पक्ष गेम विकासकर्ताहरु र जीयाङ इन्च (Zynga Inc) लगायत स्टुडियोहरुसँग टाई-अप गरेर आफ्नो एपमा एचटीएमएल५ गेमहरु, मिनीगेमहरु ल्याउने परीक्षण गरिरहेको छ।
‘हामी संधै हाम्रो प्लेटफर्मलाई समृद्ध बनाउने तरिकाहरु खोजिरहेका छौं र नियमतिरुपमा नयाँ सुविधाहरु परीक्षण गरेर टिकटकलाई अझै फराकिलो बनाइरहेका छौं,’ ती प्रतिनिधिले उल्लेख गरे।
प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार