चीनले २०२३ मा ठूलो टेलिस्कोप अन्तरिक्षमा लञ्च गर्ने

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं ।

चीनले आकाशको अध्ययनका लागि सन् २०२३ मा आफ्नो पहिलो ठूलो टेलिस्कोप प्रक्षेपण गर्ने योजना बनाएको छ।

यसमार्फत् टाढाका ग्यालेक्सीहरुका बारेमा नयाँ तथ्य पत्ता लगाउने र डार्क म्याटर तथा डार्क इनर्जीका बारेका नयाँ रहस्यहरु खोतल्ने चीनको योजना रहेको स्पेस डटकमले उल्लेख गरेको छ।

चाइनिज स्पेस स्टेशन टेलिस्कोप (सीएसएसटी) एउटा अप्टिकल तथा पराबैजनी अन्तरिक्ष अवलोकन केन्द्र हो जसमा ६.६ फिट व्यासयुक्त लेन्स रहेको छ। आकारका हिसाबले हबल अन्तरिक्ष टेलिस्कोप जत्रै हुने बताइएको छ।

चीनको यो टेलिस्कोपले अमेरिका र युरोपको हबल टेलिस्कोप र हालै लन्च गरिएको जेम्स वेब टेलिस्कोपसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने बताईएको छ।

उक्त टेलिस्कोपको रेजोल्युशन हबलको जस्तै भए पनि सीएसएसटीको फिल्ड अफ भ्यू ३५० गुणा ठूलो भएको नेशनल एस्ट्रोनोमिकल अब्जरभेटरिज अफ चाइनका उप निर्देशक लिउ जिफेङले बताए।

यसको अर्थ चिनियाँ स्पेस स्टेशन टेलिस्कोपले ३२ वर्ष पुरानो हबल टेलिस्कोपको तुलनामा एक पटकमा आकाशको धेरै विवरण हेर्न सक्नेछ। यो टेलिस्कोपको मिशन लाइफ १० वर्ष हुने र २.५ अर्ब पिक्सेलको क्यामराले आकाशको ४० प्रतिशत सर्वेक्षण गर्ने बताइएको छ ।

सीएसएसटीमा हाम्रो ग्यालेक्सीका ताराहरूको म्यापिङका लागि थप चार ओटा उपकरण हुने बताइएको छ । तिनीहरूले धूमकेतु र क्षुद्रग्रहहरू जस्ता द्रुत गतिमा चल्ने वस्तुहरू पनि पत्ता लगाउनेछन्, र सुपरमासिभ ब्ल्याक होलहरू अध्ययन गर्नेछन्।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार