
काठमाडौं ।
सोशल मिडिया ट्विटर किन्ने योजना सफल भएको खण्डमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरमा लगाइएको प्रतिबन्ध हटाइने इलन मस्कले बताएका छन्। ट्रम्पलाई प्रतिबन्ध लगाउने निर्णय नैतिकरुपमा अत्यन्तै खराब रहेको र मुर्खतापूर्ण रहेको उनको भनाई छ।
संसारको सबैभन्दा धनी व्यक्तिको ४४ अर्ब डलरको अधिग्रहण बोलीको प्रस्ताव गत महिना ट्विटर बोर्डले सहमति जनाएको थियो।
तर, यो सम्झौता नभएको र आगामी दुई–तीन महिनाभित्रमा सम्पन्न हुने उनले बताए ।
पूर्व अमेरिकी राष्ट्रपतिलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय “नैतिक रूपमा गलत र पूर्ण रूपमा मूर्ख” भएको मस्कले फाइनान्सियल टाइम्स फ्यूचर अफ द कार समिटमा भने।
मस्कले भनेका छन् – ‘ट्रम्पमाथि प्रतिबन्ध लगाउनु सही थिएन । यस्तो निर्णय गर्नु ट्विटरको गल्ती थियो ।’
सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकहरुले अमेरिकाको क्यापिटल हिलमा दंगा मच्याएपछि ट्विटरले ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो। ट्रम्पले हिंशा भड्काएको र थप हिंशा भड्काउने जोखिम रहेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको बताउँदै आएको छ।
तर टेस्ला मालिकले भने, “म स्थायी प्रतिबन्धलाई उल्टाउनेछु तर मसँग ट्विटरको स्वामित्व छैन त्यसैले यो निश्चित रूपमा हुने कुरा होइन।”
ट्रम्पले हाल आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल स्थापना गरेका छन् र प्रतिबन्ध हटेपनि आफु ट्विटरमा नफर्कने घोषणा गरिसकेका छन्।
मस्कले ट्विटरका सह-संस्थापक ज्याक डोर्सीसँग आपत्तिजनक ट्वीटको प्रतिक्रियामा प्रयोगकर्ताहरूलाई उनीहरूको सोशल मिडिया खाताहरू बन्द गर्ने विषयमा कुरा गरेको बताए।
“उनी र म एउटै विचारका छौं कि स्थायी प्रतिबन्ध अत्यन्त दुर्लभ र बट वा स्क्याम खाताहरूका लागि आरक्षित हुनुपर्छ,” उनले भने।
प्रकाशित: २८ बैशाख २०७९, बुधबार