
काठमाडौं ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०२२ का लागि सञ्चालन गर्ने नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड छनोट आज शनिवार हुँदैछ।
विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका आवेदन दिएका विद्यार्थीहरु सहभागी हुँदै गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।
विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कनिष्ठ र वरिष्ठ गरी दुई विधामा आयोजना गरिनेछ। जसअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले कनिष्ठमा आवेदन दिन सक्नेछन्। कक्षा ११–१२ का विद्यार्थीले वरिष्ठमा आवेदन दिनसक्ने पनि उनले बताए।
ओलम्पियाडको पहिलो चरण/छनोट परीक्षा प्रादेशिक चरणका रुपमा आज शनिबार अपराह्न १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना हुँदैछ।
मे ५ तारिखसम्म इच्छुक विद्यार्थीले आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका सोसाइटीले तोकेका संयोजकलाई आवेदन फाराम बुझाउन सक्ने व्यवस्था गरिएको थियो।
प्रदेश चरणमा गरिएको प्रदर्शनका आधारमा दोस्रो चरण अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ। तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिसिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ।
कार्यक्रमको आवेदन फाराम तथा त्यससम्बन्धी सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध रहेको संस्थाले जनाएको छ।
प्रकाशित: २४ बैशाख २०७९, शनिबार