चुनावअघि नै दार्चुलाको छाङ्गरुमा टेलिकमको सीडीएमए सेवा संचालन हुने

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
चुनावअघि नै दार्चुलाको छाङ्गरुमा टेलिकमको सीडीएमए सेवा संचालन हुने
दार्चुलाको छाङ्गरुस्थित नेपाल टेलिकमको टावर। फाइल तस्बिर।

काठमाडौं ।

नेपाल भारत सिमानामा रहेको दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन हुने भएको छ। नेपाल टेलिकमका दार्चुला कार्यालय प्रमुख कृष्णबहादुर गुरुङसहितको टोली छाङ्गरु पुगेर टेलिफोन सेवा स्थानीय तहको निर्वाचन अगाडि नै पुनः सञ्चालनमा ल्याउने भएको हो।

करिब सात महिनादेखि बन्द रहेको टेलिकमको सीडीएमए स्काई फोन सेवा केहि दिनभित्रै संचालनमा आउने टेलिकमका सुदूर पश्चिम प्रदेशका प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टले जानकारी दिए।

“अहिले सेवा संचालनमा आईसकेको छैन्। लामो समयदेखि बन्द भएको सेवा संचालन गर्ने तयारी रहेको छ र केहि दिनभित्रै पूर्णरुपमा सीडीएमए सेवा संचालन हुन्छ,” निर्देशक भट्टले टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार यसको लागि टोली खटिएको र टोलीले बिग्रिएको भीस्याट लिंक मर्मत गर्ने र सेवा सुचारु गर्नेछ।

“सो स्थान निकै दूर्गम रहेको छ र अहिले बाहेक जान कठिन हुन्छ। हामी स्थानीय तहको निर्वाचन अगाडि नै सो सेवा संचालन गर्नेछौं,” उनले भने।

गएको मङ्गलबार टेलिकमको दार्चुलाका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङसहितको टोली छाङ्गरु गएको बताईएको छ।

निर्देशक भट्टले सीडीएमए संचालनमा आए लगत्तै टेलिकमले सो स्थानमा फोरजी सेवा समेत संचालनमा ल्याउने तयारी गरेको छ।

“हामीले ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेशन बनाएका छौं। अब सो स्टेशनबाट माइक्रोवेभ प्रविधिमार्फत फोरजी सेवा दिनेछौं,” उनले भने।

यसको लागि सो स्थानमा फोरजी सेवा सञ्चालनमा ल्याउनका लागि व्यास–४ कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको थियो। ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेसन राखिएको बताईएको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार