विश्व प्रेस काउन्सिलको बैठकः न्यू मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिताको सुझाब

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
विश्व प्रेस काउन्सिलको बैठकः न्यू मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिताको सुझाब

काठमाडौं ।

प्रेस काउन्सिलले अन्तराष्ट्रिय स्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठाएको छ। अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो।

नेपालका तर्फबाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरैखालका प्रयासहरू भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताए। “हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौं । यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ ।”उनले भने।

वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिल  (World Association of Press Councils) को बुधबार सुरु भएको बैठकमा अध्यक्ष बस्नेतले सो प्रस्ताव गरेका थिए। उनले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राखे।

केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिहरूलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौती सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।

राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुने तर्फ उनको जोड थियो । विभिन्न ३ दर्जन मुलुकका अध्यक्ष र प्रतिनिधि सहभागी बैठकमा नेपालबाट अध्यक्ष बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेलबासेको सहभागिता छ।

विश्व प्रेस काउन्सिलका महासचिव समेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तनसँगै मिडियामा विभिन्न समस्या थपिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखे।

विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी दिए।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार