इन्टरनेट सेवा प्रदायकहरुलाई सहजीकरण गरिदिने सञ्चारमन्त्रीको आश्वासन

  • Technology Khabar | २० बैशाख २०७९, मंगलवार
इन्टरनेट सेवा प्रदायकहरुलाई सहजीकरण गरिदिने सञ्चारमन्त्रीको आश्वासन

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले इन्टरनेट सेवा प्रदायकहरुको समस्या समाधान गर्न पहल गर्ने तथा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने आश्वासन दिएका छन्।

संचार मन्त्री कार्कीले इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का पदाधिकारीहरुसँगको सोमबार बेलुका गरेको छलफलमा अहिले देखिएको समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने बताएका हुन् ।

उनले इन्टरनेट बन्द हुने अवस्था नआउने गरी काम गर्न आग्रह गर्दै मन्त्रालयले विदेशी मुद्राको सिफारिस गरिदिने र अन्य सहजीकरणको काम गर्ने बताएको एक सदस्यले जानकारी दिए।

“आईस्पानका टिमसँग मन्त्री ज्यूले इन्टरनेट नकाटिने अवस्था बनाउन र विदेशको लागि टाटा र एयरटेललाई रकम पठाउने व्यवस्था गरिने बताउनुभयो।” एक सहभागीले टेक्नोलोजीखबरसँग भने।

त्यसैगरी मन्त्री कार्कीले इन्टरनेट सेवा प्रदायकहरुका साथसाथै केबुल टिभी सेवा प्रदायकहरुलाई पनि सहजीकरण गरिदिने बताएका थिए।

भेटमा मन्त्रीसमक्ष आईस्पानले उठाउँदै आएको अन्य मुद्दाहरुमा पनि छलफल भएको छ।

जसमा पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले पुन तार काटिदिने चेतावनी दिएको बारेमा मन्त्रीलाई जानकारी गराईएको थियो। सो विषयमा मन्त्रालयको तर्फबाट पहल गर्ने र यसअघि तयार भएको प्रतिवेदन लागू गराउने तर्फ काम गरिने मन्त्री कार्कीले बताए।

यसका साथै इन्टरनेट सेवामा रहेको अत्यधिक करको भारलाई कम गर्न मन्त्रालयले काम गरिरहेको मन्त्रीले आईस्पानको टिमलाई जानकारी दिएका थिए।

“हामीले करको बारेमा पनि हेर्दैछौं। र घटाउने प्रयासरत छौं,” मन्त्रीले भनेको कुरा उदृत गर्दै सहभागी एक सदस्यले भने।

इन्टरनेट सेवा प्रदायकहरुको समस्याको बारेमा बुझ्न र त्यसलाई समाधान गरेर सहजीकरण गरिदिन समेत सचिवलाई यसअघि नै मन्त्रीले निर्देशन दिईसकेको समेत जानकारी गराईएको थियो।

आईस्पानले भने आफ्ना समस्या र मागहरु समाधान नभएसम्म सेवा दिन कठिन हुनसक्ने भन्दै त्यसलाई सकेसम्म छिटो समाधान गर्न मन्त्री कार्कीसमक्ष अनुरोध गरेको थियो।

सो बैठकमा मन्त्रीसहित मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहसहभागी रहेका थिए । त्यसैगरी आईस्पानका तर्फबाट अध्यक्ष सुधिर पराजुली पूर्व अध्यक्ष बिनय बोहरा, सदस्य पुस्कर बडाल तथा सीईओ सुवास खड्का सहभागी थिए।

सम्बन्धित समाचार-

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागीता जनाउने आईस्पानको निर्णय

प्रकाशित: २० बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार