सूचना प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासको लक्ष्य प्राप्त

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
सूचना प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासको लक्ष्य प्राप्त

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गर्नुपर्ने बताएका छन्।

पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना दिँदै उनले सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने उल्लेख गरे ।

उनले शुभकामना सन्देशमा प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाई आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् ।

“गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, सम्मुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासाथ देशव्यापी रूपमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस २०७९ मनाइँदैछ।

प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह, सामाजिक अन्तक्रियालगायतका विषयमा आमूल परिवर्तन हुँदै आएको बताएका छन्। उनले सन्देशमा हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमा अभिवृद्धि गर्दा गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

सुरक्षित र विश्वसनीय डिजिटल नेपाल निर्माणको अभियानमा सबैले हातेमालो गर्दै अघि बढ्नसमेत विशेष आग्रह गरेका छन्।

सुरक्षित साइबर सुरक्षा नीति : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन्। उनले पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै व्यवस्थित तथा सुरक्षित साइबर सुरक्षा नीति निर्माणको काम भइरहेको उल्लेख गरेका हुन्।  मन्त्री कार्कीले हाल सञ्चालनमा रहेका डाटा सेन्टर तथा सरकारी क्लाउडको मूल्याङ्कन तथा पुनरावलोकन गर्नुका साथै थप डाटा सेन्टर स्थापना कार्य भइरहेको उल्लेख गरेका छन्।

त्यसैगरी ब्रोडब्यान्ड विस्तारको कार्यलाई अझ गतिका साथ निरन्तरता दिइएको जानकारी दिँदै देशका सबै सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र र स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार गरिएको र आधारभूत विद्यालयहरूमा उच्च गतिको इन्टरनेट सेवा पुरयाउने कार्य प्राथमिकतासाथ अगाडि बढाइएको बताएका छन्।

सञ्चारमन्त्रीले कागजरहित सरकारको अवधारणाबमोजिम विद्युतीय हस्ताक्षरसहितको सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइएको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुणस्तरीय तथा विश्वसनीय बनाउन फाइभ जीको प्रयोग अगाडि बढाइएको र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित नीति तथा कानुन समयसापेक्ष निर्माण तथा परिमार्जनका कार्यहरू भइरहेको बताएका छन्।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार