चिपसेटको बिक्रीले बढायो सामसङको नाफा

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
चिपसेटको बिक्रीले बढायो सामसङको नाफा

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको नाफामा उच्च वृद्धि भएको छ।

बिहीवार कम्पनीले बताएअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा कम्पनीको मुनाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ। जनवरी–मार्च त्रैमासमा कम्पनीले ७७८ खर्ब वन (६१ अर्ब ३० करोड डलर) आम्दानी गरेको छ ।

सो अवधिमा सञ्चालन मुनाफा १४१ खर्ब वन (११ अर्ब १० करोड डलर) भएको बताइएको छ। यो कम्पनीले यो महीनाको शुरुमा गरेको प्रक्षेपणकै हाराहारी हो।

पछिल्लो समयमा मेमोरी चिपको सुदृढ विक्रीका कारण कम्पनीको विक्री बढेको बताईएको छ।

समीक्षा अवधिमा कम्पनीले २०१ खर्ब वन (१५ अर्ब ८० करोड डलर) मूल्य बराबरको चिप बेचेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ४० प्रतिशत धेरै हो। यस बाहेक नयाँ लाइनअपको स्मार्टफोनको सुदृढ विक्रीबाट पनि कम्पनीलाई लाभ मिलेको छ। कम्पनीले गएको फेब्रुअरीमा ग्यालेक्सी एस २२ सिरिज लञ्च गरेको थियो ।

यद्यपि, विश्व बजारमा लामो समयदेखि देखिएको आपूर्ति चक्रमा समस्या बाधाकोरुपमा यथावत रहने सामसङले बताएको छ।

यस वर्ष कम्पनीले जगेडा चिप र इमेज सेन्सरको सञ्चिति बढाउने कामलाई निरन्तरता दिने भएको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार