डिजास्टर रिकभरी सेन्टरमा पूर्वाधारको अभाव

  • Technology Khabar | १४ बैशाख २०७९, बुधबार
डिजास्टर रिकभरी सेन्टरमा पूर्वाधारको अभाव

काठमाडौं ।

हेटौँडामा स्थापना भएको डिजास्टर रिकभरी केन्द्र चार वर्ष पुग्नै लाग्दा डाटा ब्याकअपका लागि पूर्वाधारमा कमी हुँदा समस्या निम्तिएको छ। सूचना प्रविधि केन्द्रमा कुनै समस्या आए तत्काल डाटालाई अनलाइन रिकभरी गर्न कठिनाइ भएको छ।

सरकारी तथा गैरसरकारी कार्यालयका डाटाहरुको केन्द्रीय भण्डारको रुपमा रहेको सूचना प्रविधि केन्द्रमा समस्या आउँदा तत्काल डाटा रिकभरी गर्न समस्या भएका कारण कार्यालयका काम समेत प्रभावित हुने गरेका छन्।

निर्माण सकेर २०७५ साल साउनदेखि सञ्चालनमा आएको उक्त सेन्टरले काठमाडौंमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रुपमा काम गरिरहेको छ।

कम मात्रामा ब्याकअप स्पेस भएका कारण उक्त केन्द्रबाट सोचेअनुरुपको सेवा प्रदान गर्न नसकिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका निमित्त कार्यकारी निर्देशक सफल श्रेष्ठ बताउँछन्।

‘डिजास्टर रिकभरी केन्द्रमा सूचना प्रविधि केन्द्रको भन्दा बढी डाटा स्टोरेज गर्ने क्षमता हुनुपर्ने हो तर अहिले कम छ,’ उनले भने, ‘त्यसकारण प्रविधि केन्द्रमा कुनै समस्या आइहाले तत्काल डाटाकाे अनलाइन सर्भिस गर्न समस्या भइरहेको छ ।’

२०७२ सालको भुकम्पपश्चात् नै काठमाडौँमा कुनै प्राकृतिक वा मानवीय कारणले क्षति भए तत्काल डाटाहरुलाई अनलाइन सर्भिस गर्न सकियोस् भनेर यसको परिकल्पना गरिएको हो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका निमित्त कार्यकारी निर्देशक सफल श्रेष्ठकाअनुसार ब्याकअप नहुँदा सरकारी एकीकृत डाटा प्रभावकारी ढंगले सञ्चालन हुन नसकेकाले यसको आवश्यकता रहेको बताए। तर, हाल उक्त सेन्टरको क्षमता राष्ट्रिय सूचना प्रविधि केन्द्रको भन्दा कम भएका कारण डाटा स्टोरका लागि अर्को पनि भवनको आवश्यकता रहेको उनको भनाइ छ ।

‘डाटा सेन्टरलाई प्रभावकारी तरिकाले सञ्चालन गर्नका निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि उक्त सेन्टरको निर्माण गरिएको हो,’ निमित्त निर्देशक श्रेष्ठले भने, ‘उक्त सेन्टर अझै पूर्णरुपले सञ्चालन हुन सकिरहेको छैन, त्यसकारण डाटा सेन्टरको लागि अर्को पनि भवनको आवश्यकता रहेको छ ।’ यस रिकभरी केन्द्रको क्षमता भने यकिन नहुने उनी बताउँछन्।

‘हाल सञ्चालनमा रहेको सेन्टरमा ब्याकअप डाटा रहने क्षमता यति नै हुन्छ भन्ने छैन,’ उनले भने, ‘फ्लो स्पेसको कति पार्ट रहन्छ भन्ने कुराले मात्र यसको निर्धारण गर्नसक्ने हुन्छ।’ फ्लो स्पेसमा भक्स पपहरु रहेका हुन्छन् । एउटा भक्स पपले ३२० किलोवाटसम्म मात्र डाटा स्टोर गरेर राख्नसक्ने क्षमता हुने उनी बताउँछन्।

अर्को भवन कहिले र कहाँ बनाउने भन्ने कुरा अहिलेसम्म टुङ्गो नलागेको श्रेष्ठले बताए। यो डाटा केन्द्र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा निर्माण गरिएको हो । मुलुकको महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप, मानवीय त्रुटिमा समेत नष्ट नहोस् र छिटो अनलाइन सर्भिस गर्न सकियोस् भनेर रिकभरी साइट बनाइएको हो।

यस्ता साइट मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधार सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौंडालाई रोजिएको श्रेष्ठले बताए।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी तथा अर्धसरकारी निकायहरुको डाटा केन्द्रीय भण्डारणको रुपमा काम गर्दै आएको छ।

डाटा रिकभरी सेन्टरले कसरी काम गर्छ ?

डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयको रूपमा काम गर्छ । सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, इप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षरलगायत सञ्चालन भइरहेका छन् । प्रमुख डेटामा समस्या भएको खण्डमा यो रिकभरी सेन्टरबाट तत्काल सेवा सञ्चालन गर्न सहयोग पुग्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका निमित्त निर्देशक सफल श्रेष्ठले बताए।

प्राकृतिक वा मानव सृजित विपत्तिको समयमा सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेका सरकारी तथ्याङ्क एवम् सूचनाहरु तत्काल सञ्चालन गर्नका लागि केन्द्र निर्माणका लागि कोरियाले सहयोग गरेको हो । धेरैले हराएका डाटाहरु पनि रिकभरी सेन्टरबाट प्राप्त गर्न सकिन्छ भन्ने सोच राख्ने गरेको श्रेष्ठ बताउँछन्। तर हराएका डाटाहरु यहाँबाट प्राप्त गर्न भने नसकिने उनको भनाइ छ ।

हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको सिस्टमले काम गरिरहँदा डिजास्टर रिकभरीमा रहेको सिस्टम निष्क्रिय रहेको हुन्छ। यदि सूचना प्रविधि केन्द्रमा कुनै समस्या आएर सिस्टम बन्द भयो भने स्वतःस्फुर्त रिकभरी सेन्टरको सिस्टमले काम गर्न थाल्ने छ। यसकारण कुनै बेला सूचना प्रविधिमा समस्या आइहहाले डाटाहरु तत्काल अनलाइन सर्भिस गराएर डाटा रहेका कार्यालयको कामलाई गति प्रदान गर्नु डिजास्टर रिकभरीको मुख्य काम हो।

सेन्टरकाे अवस्था

काठमाडौंको सिंहदरबास्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्राकृतिक वा मानवीय कुनै कारणबस समस्या आएमा डाटाहरुलाई तत्काल अनलाइन रिकभरी गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजास्टर रिकभरी सेन्टर स्थापना गरिएको हो । हेटौँडामा रहेको सार्वजनिक जग्गाको १० कठ्ठा क्षेत्रफलमा यो भवन निर्माण भएको छ । उक्त सेन्टर उच्च सुरक्षित भवन, कोलाहलयुक्त वातावरण, विद्युतको दोहोरो फिडर सुविधा र वैकल्पिक विद्युत प्रणाली स्थापनाका लागि फराकिलो क्षेत्रमा रहेको छ ।

क्षमता बिस्तारको जरुरत हेटौडामा रहेको डिजास्टर रिकभरी सेन्टरको क्षमता हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रको भन्दा कम रहेकाले यसको क्षमता वृद्धि गर्नु आवश्यक रहेको निमित्त निर्देशक श्रेष्ठ बताउँछन् । उनका अनुसार गत आवमा सरकारबाट केही रकम निकासा गरी उक्त सेन्टरमा केही इलेक्ट्रिक सामानहरुको खरिद गरिएको थियो। तर, अझै उक्त सेन्टरका लागि पर्याप्त इलेक्ट्रोनिक सामान नभएको श्रेष्ठको भनाइ छ।

‘डाटा डिजास्टर रिकभरी सेन्टर काठमाडौँको सूचना प्रविधि केन्द्रको क्षमता भन्दा कम रहेको छ ,यसकारण डाटा ब्याकअपकाे लागि समस्या छ,’उनले भने ‘गत आवमा केही रकम निकासा गरेर केही डिभाइसहरु थपिएको छ । तर अझै पूर्ण भने भइसकेको छैन ।’

उक्त सेन्टरमा हाल १६ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये पाँच जना सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधिमै बसेर काम गरेका छन् भने बाँकी हेटौँडामै रहेर काम गरिरहेका छन्। गोरखापत्रबाट

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...