
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो नेटवर्क भित्र फोन गर्दा आगामी स्थानीय निर्वाचन सम्बन्धि जानकारी सिआरबिटीमार्फत दिन शुरु गरेको छ।
अब प्रयोगकर्ताले एक अर्कालाई फोन गर्दा निर्वाचनको सन्देश सुन्ने भएका छन्।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले उपलब्ध गराएको कलर रिङ ब्याक टोन (सिआरबिटी) नेपाल टेलिकमका मोबाइल र ल्यान्डलाइन फोनमा सुन्न थालिएको हो।
यसअघि निर्वाचन आयोगले चुनाव सम्बन्धि जानकारीका लागि टोलफ्रि नम्बर र कल सेन्टर संचालन गरिरहेको छ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले सो सूचना आयोगबाट नेपाल दूरसञ्चार प्राधिकरणमार्फत राख्नका लागि निर्देशन आएको बताए।
“हामीले सचेतनाका लागि प्राधिकरणले भनेपछि राखेका हौं। मतदानलाई सफल बनाउन राखिएको हो,” उनले भने।
यसअघि टेलिकमले कोरोनाभाइरसको महामारीका बेला जनचेतना फैलाउन सन्देशमूलक सिआरबिटी राखेको थियो।
उता आयोगले भने यस्तो सचेतना अन्य टेलिकम सेवा प्रदायकहरुकोमा पनि राखिने जानकारी दिएको छ।
प्रकाशित: १४ बैशाख २०७९, बुधबार