
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणलेअनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्गलगायतका वेबसाइटहरु बन्द गराउने भएको छ। यसका साथै त्यस्ता कार्यमा नलाग्न र गैरकानूनी तथा अपराधजन्य क्रियाकलाप गरेको वा गराएको पाईएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।
प्राधिकरणले सो सम्बन्धित वेबसाइटहरु अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एप, अनलाइन सञ्जालको विषयमा जानकारी उपलब्ध गराउन भनेको छ।
सोमबार एक सुचना प्रकाशित गर्दै प्राधिकरणले नेपालभित्र गैर कानूनी रहेका त्यस्ता क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्गलगायतसँग सम्बन्धित वेबसाइट तथा एपहरु बन्द गर्ने भएको हो।
“नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ्गलगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल (Disable) तथा कालो सूचीमा राख्न आवश्यक देखिएकोले त्यस्तो वेबसाइट, एप वा अनलाइन सञ्जालको नाम वा सोसंग सम्बन्धित कुनै जानकारी उपलब्ध छ भने प्राधिकरणको इमेल ठेगानामा जानकारी गराउनु,” सूचनामा भनिएको छ।
यसका साथै प्राधिकरणले अनलाइन प्रविधि तथा भर्चुअल माध्यमहरुबाट हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित गतिविधिहरु गैरकानूनी तथा अपराधजन्य क्रियाकलाप भएको उल्लेख गरेको छ।
यस प्रकारका कार्यहरु नगर्न तथा नगराउनुहुन समेत सम्बन्धित सबैलाई जानकारी गराउँदै कसैले यस प्रकारका क्रियाकलापहरु गरेको वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी प्राधिकरणले दिएको छ।
प्रकाशित: १३ बैशाख २०७९, मंगलवार