
काठमाडौं ।
भारतमा इलेक्ट्रिक स्कुटर बेच्ने ओला इलेक्ट्रिकले बजारबाट १,४४१ ई-स्कुटर फिर्ता गरेको छ। सवारीसाधनमा आगलागीका घटनालाई ध्यानमा राखेर यो कदम चालिएको कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले भारतको पुणे शहरमा मार्च २६ मा भएको आगलागीको घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानले यो एक्लो घटना भएको बताएको छ।
आगामी दिनमा यस्तो घटना नदोहोरियोस् भनेर कम्पनीले ई–स्कुटरबारे पुनः अनुसन्धान गर्ने जनाएको छ। ओला इलेक्ट्रिकले यी स्कुटरलाई कम्पनीका इन्जिनियरहरूले परीक्षण गर्ने बताएको छ।
ब्याट्री मापदण्ड अनुसार बनेको दाबी
ओला इलेक्ट्रिकले आफ्नो ब्याट्री प्रणाली पहिले नै मापदण्ड अनुसार डिजाइन गरिएको बताएको छ। युरोपेली मानक ईसीई १३६ को अतिरिक्त, तिनीहरू भारतको लागि नयाँ प्रस्तावित मानक एआईएस १५६ को लागि परीक्षण गरिएको छ।
पछिल्लो दिनमा भारतमा ई-स्कुटरहरुमा अचानक आगलागी हुने वा समस्या देखिने गरेको छ। ई-स्कुटरहरुमा भएको आगलागीले मानिसकै मृत्यु भएको तथा ठूलो धनजनको क्षति समेत भएको समाचारहरु आईरहेका छन्।
हालसालै मात्र अर्को भारतीय ई-स्कुटर कम्पनी प्योर ईभीले पनि भारतीय बजारबाट आफ्ना केहि मोडलका ई-स्कुटरहरुमा रिकल गरेको थियो।
प्रकाशित: १२ बैशाख २०७९, सोमबार