
काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट)ले क्यान महासंघसँगको सहकार्यमा घुम्ती सूचना पहुँच केन्द्रलाई ७ ओटै प्रदेशका स्थानीय तहसम्म पुर्याउने भएको छ।
नास्टको प्रविधि संकाय अन्तर्गत दक्षिण कोरियाली सरकारको औपचारिक विकास सहयोग मार्फत मुलुकमै उपलब्ध पहिलो घुम्ती सूचना पहुँच केन्द्र (Mobile Information Access Center) ल्याएको हो।
नास्टले घुम्ती सूचना पहुँच केन्द्र नामक मोबाइल बसमार्फत मुलुकका ग्रामीण भेगमा पुगी सूचना तथा संचार प्रविधि क्षेत्रमा शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने उदेश्य लिएको छ र सोका निम्ति क्यान महासंघसँग सहकार्य गरेको छ।
नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालकाअनुसार सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै यो सूचना प्रविधिमैत्री बस तयार गरिएको हो।
र प्रदर्शनीमा सर्वसाधारणको जानकारीका निम्ति यसको प्रदर्शनी गरिएको हो।
वातानुकूलित बसभित्र विद्यार्थीका लागि आवश्यक वाईफाई, ल्यापटप, प्रोजेक्टर, स्क्रिन, इलेक्ट्रोनिक पोडियम, प्रिन्टर, भिजुअलाइजर, साउण्ड सिस्टम, स्पिकर, शौचालय लगायतका सुविधाहरु उपलब्ध छन्। यस आईसीटी मोबाइल बसमा एक पटकमा १८ जनाले तालिम लिन सक्ने गरी संरचना बनाइएको छ।
उपत्यका बाहिर ७४ जिल्लामा रहेको आफ्नो नेटवर्कमार्फत यातायात पहुँच भएका ७ ओटै प्रदेशका स्थानीय तहसम्म प्रशिक्षकसहितको घुम्ती सूचना पहुँच केन्द्रमार्फत शहरी सुविधाबाट बञ्चित विद्यार्थी र अन्य जिज्ञासुलाई नास्टको बसभित्रै अनुशिक्षण कार्यक्रम बढाउने गरी क्यान र नास्टको सहकार्य हुने क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिएका छन्।
घुम्ती सूचना पहुँच केन्द्रमार्फत विद्यार्थीलाई अभिमुखीकरण गर्ने, कम्प्युटरका कक्षा सञ्चालन गर्ने र साक्षरता बढाउने लगायतका कामहरु भइरहेको नास्टले जनाएको छ।
हाल सो घुम्ती सूचना पहुँच केन्द्रलाई क्यान इन्फोटेकमा प्रदर्शनी र जानकारी दिने उद्देश्यले राखिएको छ।
प्रकाशित: ११ बैशाख २०७९, आईतवार